
काठमाडौं । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–६ छितापोखरीमा मानव खप्परको कंकाल फेला परेको छ ।
साविकको छितापोखरी–१ दिहुँमा कुकुरले बाटोमा ल्याएको अवस्थामा खप्परको कंकाल फेला परेको वडाध्यक्ष मिलन राईले बताउनुभयो ।
सोमबार बिहान विद्यालय जानेक्रममा स्थानीय शिक्षक सुरेश तामाङले मानव खप्परको कंकाल भेटेर प्रहरीलाई खबर गर्नुभएको थियो ।
दिहुँबाट डाँडाखर्क जाने बाटोमा भेटिएको खप्परको कंकाल कसको हो भन्ने खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरिक्षक सागर शाहले जानकारी दिनुभयो ।
मानव खप्पर फेला परेपछि प्रहरीचौकी छितापोखरी र ईलाका प्रहरी कार्यालय खोटाङबजारबाट प्रहरी निरिक्षकको कमाण्डमा खटिएको प्रहरीको टोलीले कानुनी प्रक्रिया पूरा गरेर पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिँदैछ ।
घट्नाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक शाहले बताउनुभयो ।
सोही ठाउँका बिष्णु तामाङ गत १४ मंसिरदेखि बेपत्ता छन् । कतिपयले सो खप्पर तामाङको भएको अनुमान गरेका छन् ।
बाटोमा खप्पर भेटिए पनि शरीरका अन्य भाग भने खोजी गर्दा नभेटिएको वडाध्यक्ष राईले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्