१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


बर्दियामा योगाभ्यासको आकर्षण


208
Shares

बर्दिया । व्यस्त दैनिकी, अस्वस्थकर खानपान र बजारमा पाइने मिसावट युक्त खाद्य पदार्थले मानिसको जनजीवन अस्तव्यस्त बन्दै गएकोे छ । जसका कारण विभिन्न खाले रोगहरू देखा पर्न थालेका छन् ।

स्वस्थ्य, निरोगी, दीर्घजीवि रहनु सबैको चाहना हो । यसका लागि सबैभन्दा सरल र प्राकृतिक विधि बन्दै छ योग । शारीरिक रूपमा स्वस्थ, मानसिक तवरले शान्त र अध्यात्मिक रूपमा उच्च चेतनायुक्त भएर जिउने कला योगबाट प्राप्त गर्न सकिन्छ  ।

रोग लागेपछि औषधि–उपचार खोज्नु भन्दा रोग लाग्नै नदिनु राम्रो हुन्छ । योग र साधना रोगमुक्त जीवनको लागि सहायक हुन्छ भन्ने विश्वासले पछिल्लो समय बर्दियाको राजापुरका स्थानियहरु नियमित योगाभ्यासमा जुटेका छन् ।

पतञ्जली सेवा समिति, बर्दियाको सहकार्यमा राजापुर नगरपालिकाले पालिकाका विभिन्न स्थानमा योग शिविर सञ्चालन गरेपछि योगलाई सिकाइको रूपमा स्थानीयहरू पछिल्लो समय नियमित योगाभ्यासमा जुटेको पाइन्छ ।

योग गर्नाले पुरानो रोग निको हुँदै जाने विश्वासका साथ नियमित योगा गर्दा आफूलाई निकै राहत भएको राजापुर ४ की देवी तिमिल्सीनाको अनुभव छ ।

योगका माद्यमबाट सकारात्मक सोचको विकास हुनुका साथै मनवाट नकारात्मक कुरा हट्दै जाने र व्यक्तिको जीवन पद्धतिमा परिवर्तन ल्याउने भएकाले नियमित योग गर्ने गरेको राजापुर १ का छविराज भट्ट बताउनुहुन्छ ।

बदलिँदो जीवनशैली, अस्वस्थ खानपान र व्यायामको कमीका कारण अधिकांश मानिसमा कुनै न कुनै किसिमको स्वास्थ्य समस्या देखिँदै गएको छ । ग्रामीण स्तरमा सहज स्वास्थ्य सेवाको पहुँच नहुनु, आर्थिक रूपमा अब्बल नहुनुले गर्दा धेरै व्यक्तिहरू प्रभावकारी स्वास्थ्य सेवाबाट बञ्चित भएका छन् ।

यसर्थ स्वस्थ खानपान र अनुशासित जीवनशैलीसँगै योगलाई जीवनको एउटा हिस्सा बनाउन सकेमा हामी निरोगी, जवान, उर्जावान् बन्न सक्छौं । योगले शारीरिक, मानसिक र आध्यात्मिक स्वास्थ्यलाई जोड्ने भएकाले स्वस्थ जीवनका लागि योग एकदमै महत्वपूर्ण हुने बताइएको छ ।