
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबारबाट सञ्चालनमा आएको चोभार सुख्खा बन्दरगाहले देशको आयात निर्यातलाई थप सहज बनाउने बताउनुभएको छ ।
‘अन्तर्राष्ट्रिय व्यापारलाई सहजीकरण गर्न बनेको बन्दरगाह उद्घाटन गर्न पाउँदा खुसी लागेको छ,’ बन्दरगाहको मंगलबार एक कार्यक्रमबीच उद्घाटन गरेपछि प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘बन्दरगाह सञ्चालनमा आएपछि आयात निर्यातलाई थप सहज बनाउने छ ।’
चोभार सुख्खा बन्दरगाहको विशेष महत्व रहेको भन्दै उहाँले यसले व्यापारलाई सहजीकरण गर्नुका साथै पारदर्शी पनि बनाउने बताउनुभयो ।
प्रधानमन्त्री देउवाले मुलुकको वैदेशिक व्यापारलाई दिगो र सन्तुलित रुपमा विकास गर्न सुख्खा बन्दरगाह जस्ता संरचनाहरूको आवश्यकता पर्ने बताउनुभयो ।
उहाँले बढ्दो व्यापार घाटालाई कम गर्न स्वदेशी कच्चा पदार्थ, स्वदेशी श्रम र सिपमा आधारित उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो ।
वैदेशिक व्यापारमा रहेका समस्या समाधानका निम्ति सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको पनि प्रधानमन्त्री देउवाले बताउनुभयो । प्रधानमन्त्री देउवाले नेपालमा रेल आवश्यक भएपनि बनाउन धेरै खर्च लाग्ने बताउनुभयो ।
कुनै दातृ राष्ट्र वा संस्थासँग सस्तो व्याजदर अथवा ग्राण्टमा पाए रेल ल्याउन सकिने उहाँले बताउनुभयो ।
प्रधानमन्त्री देउवाले लगानी र औद्योगिक विकासको वातावरण बनाउन सरकार प्रतिवद्ध रहेको पनि बताउनुभयो ।
सीमावर्ति क्षेत्रभन्दा बाहिर बनेको पहिलो बन्दरगाहमा माल वस्तु आयात र निर्यातका लागि भन्सार, क्वारेन्टिन, सुरक्षासहितको सबै पूर्वाधार रहेको छ ।
२०७५ सालबाट चोभार सुख्खा बन्दरगाहको निर्माण कार्य सुरु गरिएको थियो । सुख्खा बन्दरगाह विश्व बैंकको एक अर्ब ८० करोड ऋण सहयोगमा २२० रोपनी जग्गामा निर्माण गरिएको हो ।
विश्वबैंक र नेपाल सरकारबीच सन् २०१३ मा सुख्खा बन्दरगाह निर्माण गर्ने सम्बन्धमा सहमति भएको थियो ।
निर्माण कार्य सन् २०१९ सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख भए पनि स्थानीयको अवरोध र कोरोना महामारीका कारण निर्माण अवधि लम्बिएको थियो ।
प्रतिक्रिया दिनुहोस्