२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


रत्ननगरलाई बालमैत्री नगर घोषणा, ४२९ जना बालबालिका श्रममुक्त


195
Shares

चितवन । चितवनको रत्ननगरलाई बालमैत्री नगर घोषणा गरिएको छ ।

१६ वटै वडामा ५१ वटै सूचक पूरा भएपछि बालमैत्री नगर घोषणा गरिएको नगरप्रमुख नारायण वनले जानकारी दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि बाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण प्रसाद शर्मा खनालले बालमैत्री घोषणा गरिएको शिलालेखलाई अनावरण गर्दै प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्नुभयो ।

घोषणासँगै दीर्घकालिन कार्यान्वयनमा जोड दिन उहाँको सुझाव छ । साथै आउँदो चुनावहरूमा बालअधिकार हनन् हुन नदिनेगरी घोषणापत्र बनाउनुपर्ने र चुनावमा एकले अर्कालाई गालीगलौजको वातावरणमा नउत्रन सबै दलहरूलाई आह्वान गर्नुभयो ।

कार्यक्रममा बोल्दै नगरप्रमुख नारायण वनले इतिहास रच्न सफल भएको र घोषणा गरेर चर्चा कमाउन नभई वास्तवमै कार्यान्वयन गर्ने बताउनुभयो ।

पर्याप्त बजेट छुट्टाएर रणनीतिक योजना बनाइ यसको दीर्घकालिन कार्यान्वयनमा नगरपालिकाले काम गरिरहेको जानकारी दिनुभयो ।

बालमैत्री घोषणाका लागि नगरपालिकाले श्रममा रहेका ४ सय २९ जना बालबालिकालाई श्रममुक्त गरेको छ । करिब ६ वर्षको अवधिमा सो नगरपालिकाले घर, रेस्टुरेन्ट, पसल, ग्यारेज तथा उद्योगहरुमा कार्यरत बालबालिकाहरुलाई श्रममुक्त गरी शिक्षाको पहुँचमा पुर्याएको नगरप्रमुख वनले बताउनुभयो ।

श्रममुक्त गरेकामध्ये २ सय ८९ जनालाई विद्यालय भर्ना गरेर शिक्षा दिइएको छ भने १ सय ४० जनालाई सीपमूलक तालिम दिएर सक्षम बनाएको छ । १५ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई सीप सिकाएर काम गर्न सक्ने बनाइएको हो ।

पढाइ छाडेर बालश्रमिकको रुपमा काम गरिरहेका र विद्यालय जान नमानेका बालबालिकाहरूलाई सीप सिकाएर सक्षम बनाइएको उहाँको भनाइ छ । ४ सय २९ मध्ये २ सय ८० जनालाई मनोपरामर्श दिइएको छ ।

किशोरकिशोरी अवस्थामा पुगेका बालबालिकालाई सिलाइकटाई तालिम तथा बालकहरुलाई उनीहरूको चाहनाबमोजिम उपयोगी तालिम दिइएको छ ।

श्रममुक्त गरी विद्यालय भर्ना गरिएका बालबालिकालाई शैक्षिक सहयोग तथा परिवारको आयआर्जनका लागि आर्थिक तथा सामग्री सहयोग गरिएको छ ।

२०७४ सालअघि युनिसेफ नेपाल र रत्ननगर नगरपालिकाको सहकार्यमा कार्यक्रम सञ्चालन भएको भए पनि स्थानीय तहको निर्वाचनपछि नगरपालिका आफैँले सो कार्यक्रम सञ्चालन गर्दै आएको थियो ।

सेवाप्रदायक संस्थाको रुपमा रत्ननगर उद्योग वाणिन्य संघले बालश्रमिकको उद्धार, उनीहरुलाई शिक्षा, सीपमूलक तालिम तथा पारिवारिक पुनर्मिलनका कार्यक्रम सञ्चालन गर्दै आएको थियो ।

यसबीचमा रत्ननगरका सातवटा वडालाई बालश्रममुक्त तथा बालमैत्री वडा घोषणा गरिसकिएको थियो भने आज बाँकी वडालाई एकमुष्ट घोषणा गरिएको हो ।