१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पहिला प्रचण्डको छोरी भन्थे, भरतपुरको विकास देखेर अहिले रेनुको बुवा भन्छन् : प्रचण्ड


3.328k
Shares

चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा मेयर र अध्यक्षमा महिलाहरूलाई धेरै प्राथमिकता दिने बताउनुभएको छ ।

महिलाहरूले नेतृत्व गरेका मन्त्रालयदेखि स्थानीय तहमा धेरै राम्रो कार्य भइरहेको भन्दै विकासमा झिनाझम्टी नहुन महिलाहरूले नेतृत्व गर्नुपर्नेमा जोड दिनुभयो ।

बुधबार चितवनको भरतपुर महानगरपालिका–२ मा आँपटारीमा भूमिहीन दलितहरूलाई रातो लालपुर्जा वितरण गर्दै प्रचण्डले चुनावताका प्रचण्डको छोरी रेनु भनिए पनि अहिले भरतपुरको विकास देखेर रेनुका बुवा प्रचण्ड भन्न थालेको बताउनुभयो ।

सदियौंदेखि पुरुषले नेतृत्व गर्दै आएका स्थानीय तहमा अब धेरै संख्यामा महिलालाई मौका दिनुपर्नेमा उहाँको जोड थियो ।

भूमिहीनहरुलाई लालपुर्जा दिएर ऐतिहासिक कार्यको थालनी गर्न सफल भएको भन्दै अध्यक्ष दाहालले २०३६ सालदेखिकै आन्दोलनमा आफ्नै देशमा बसेर पनि भूमिहीन हुनुपरेको पीडालाई जोडदार उठाउँदै आएको बताउनुभयो ।

गठवन्धन सरकारले देशभरका भूमिहीन दलित, भूमिहीन सुकुम्वासीलाई लालपुर्जा दिने उहाँको भनाइ छ । देशका साझा समस्यामा यो पार्टी र त्यो पार्टी नभनी सबै राजनीतिक दलहरू एक हुन पनि उहाँको आह्वान थियो ।

कार्यक्रममा बोल्दै भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले गठन आदेश र कार्यविधि संशोधन गर्दा चाँडै काम भएको बताउनुभयो । केही ठाउँमा विरोध गर्नेहरू भए पनि आफूहरूले लालपुर्जा वितरणको काम नरोकेको बताउनुभयो ।

बुधबार सो क्षेत्रका ४६ सुकुम्वासीलाई लालपुर्जा वितरण गरिएको सेवा केन्द्र प्रमुख आमोध सुवेदीले जानकारी दिनुभयो । १० वर्षसम्म बिक्रिवितरण गर्न नपाइने गरी रातो लालपूर्जा वितरण गरेको उहाँको भनाइ छ ।

कार्यक्रममा बोल्दै भरतपुर महानगर प्रमुख रेनु दाहालले चुनावी प्रतिवद्धता पूरा गर्न सफल भएको भन्दै अन्य वडामा पनि जग्गा नापजाँच सुरु भइसकेको र चाँडै लालपुर्जा वितरण गरिने बताउनुभयो ।