१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत नवलपुरको आदेश


11.297k
Shares

काठमाडौं । जिल्ला अदालत नवलपुरले नाबालिग गायिका बलात्कारको आरोपित अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

न्यायाधीश अर्जुन अधिकारीको इजलासले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको अदालतका प्रवक्ता एवं तलसिलदार लालबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

उहाँका अनुसार नवलपुर अदालतबाट तनहुँ कारागार नै लैजाने आदेश भएको छ । आगामी वैशाख ७ गते वकपत्रका लागि आरोपित शाह, पीडित पक्षसहित साक्षीहरूलाई बोलाइएको उहाँले बताउनुभयो ।

आरोपित शाहलाई आजै तनहुँ काराबासमा लैजाने तयारी गरिएको छ । नवलपुर अदालतमा शाह विरुद्धको थुनछेक बहस बुधबार साँझ सकिएको हो ।

पीडित पक्षबाट अदालतमा तीनजना सरकारी र दुई जना अन्य गरी पाँच वकिलले बहस गर्दा शाहको तर्फबाट नौ जनाले बहस गरेका थिए ।

जिल्ला प्रहरी कार्यलय तनहुँमा हिरासतमा रहेका शाहलाई हिजो मंगलबार जिल्ला अदालत नवलपुर लगेर बयान लिइएको थियो ।

पीडित नाबालिकाले आफूमाथि शाहले एक वर्षअघि बलात्कार गरेको आरोप लगाउँदै तनहुँ र पूर्वी नवलपरासीमा मुद्दा दर्ता गराएकी थिइन् । पीडितको जाहेरीका आधारमा शाह विरुद्ध नवलपुर अदालतमा गत चैत ३ गते सरकारी वकिलमार्फत मुद्दा दर्ता भएको थियो ।

यसअघि जिल्ला अदालत तनहुँबाट भने अभियुक्त शाहलाई थुनछेक बहस सकाएर गत १० चैतमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश भइसकेको छ । तनहुँ अदालतको आदेशविरुद्ध शाह चैत १५ गते मंगलबार उच्च अदालत पोखरा पुगेका थिए ।

उच्च अदालतले पलको निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै चैत १६ गते तनहुँ जिल्ला अदालतबाट कैफियत प्रतिवेदन माग गरिसकेको छ ।