१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


महानगरको प्रमुख नपाए परिणाम सोचेभन्दा फरक हुनसक्ने चितवन कांग्रेसका सभापतिको चेतावनी


6.669k
Shares

काठमाडौं । नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले महानगरको प्रमुखमा कांग्रेसलाई सहयोग नगरे परिणाम सोचेभन्दा फरक हुनसक्ने चेतावनी दिनुभएको छ । २०७४ सालको आफ्नो पार्टीले माओवादी केन्द्रलाई सहयोग गरेको र त्यसको पैँचो अब कांग्रेसलाई माओवादीले तिर्नुपर्ने जिकिर गर्नुभयो ।

सञ्चारकर्मीसँग कुरा गर्दै खनालले उहाँले कार्यकर्ताहरुलाई केन्द्रबाट निर्देशित गर्न सकिने भएपनि हात समाएर मत खसाल्न नसकिने भन्दै यसले निर्वाचनको नतिजा सोचेको भन्दा फरक आउन सक्ने बताउनुभयो । उहाँले कार्यकर्तालाई निराश बनाएर गरिएको कामले गठबन्धन र नेपाली कांग्रेस पार्टी नै धराशायी बन्ने बताउनुभयो ।

सभापति खनालले भन्नुभयो, ‘आकाश खस्यो भने के हुन्छ म भन्न सक्दिन । टिकट लिने र समूह भित्रबाट निर्देशन गरेर त्यसले कार्यकर्तालाई समात्ने कुरा राम्रो हो कि, कार्यकर्ताको मन जितेर निर्वाचन जित्ने कुरा ? कार्यकर्ताको लेभलमा रहेका मानिसहरुलाई केन्द्रिय नेतृत्वबाट निर्देशित गर्न सकिन्छ । तर मतदाताको हात समाएर मत हाल्न सकिँदैन । तसर्थ यो रिजल्ट भोलि त्यसपछिको हाम्रो सोच, हाम्रो दृष्टिकोण हाम्रो गठबन्धन कहाँ पुग्ने हो ? त्यसबारेमा नेताहरुले पुनः विचार गर्नुपर्छ ।’

खनालले महानगरपालिकाको प्रमुख पदमा कांग्रेसको दाबी रहने र अन्य पदमा गठबन्धनबीच तालमेल गरेर जान सकिनेबारे पार्टीका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता र पदाधिकारीहरुलाई जानकारी गराएको पनि बताउनुभयो । उहाँले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल चितवनकै सांसद भएको र चितवन जिल्लामा रहेका सबै राजनीतिक पार्टीको अभिभावक भएकोले पनि आफन्तवादलाई त्यागेर यस पटक कांग्रेसलाई महानगरको नेतृत्वमा सहयोग गर्न आग्रह गर्नुभयो ।

उहाँले विभिन्न आन्दोलनमा चितवनबाट नेपाली कांग्रेसले गरेको नेतृत्व कांग्रेसप्रतिको विश्वासले पनि महानगरमा कांग्रेसको छुट्टै पहिचान रहेको बताउनु भयो ।