२ चैत्र २०८१, शनिबार | Sun Mar 16 2025


असिना पानीले म्याग्दीमा बाली नष्ट


130
Shares

काठमाडौं । म्याग्दी जिल्लाको विभिन्न स्थानमा शनिबार दिउँसो परेको असिनापानीले खेतीबाली नष्ट पारेको छ ।

बेनी नगरपालिकासहित रघुगङ्गा र मङ्गला गाउँपालिकामा असिनाले गहुँ, जौँ, आलु, मकैबालीमा खेतीबाली नष्ट पारेको हो ।

रघुगङ्गाको बेग, भगवती, पिप्ले, मौवाफाँट, बेनीको रत्नेचौर, भकुण्डे, भकिम्ली, डडुवा, मङ्गलाको बरङ्जा, सीमलचौरमा हावाहुरीसहितको असिना परेको थियो ।

भित्र्याउने बेला भएको गहुँ, भर्खरै उम्रिएको मकै र आलुका बिरुवा असिनाले चुटेर नष्ट बनाएको किसानहरुले जानकारी गराएका छन् । यतिखेर जिल्लाको मध्यपहाडी र लेकाली क्षेत्रमा गहुँ भित्र्याउने चटारो छ । सुन्तला जात फलफूल र तरकारी खेतीमा पनि असिनाले क्षति गरेको छ ।

क्षतिको पूर्ण विवरण आइ नसकेको कृषि ज्ञान केन्द्रले जनाएको छ । स्थानीय तहका कृषि प्राविधिकलाई क्षतिको विवरण संकलनका लागि परिचालन गरिएको केन्द्रले जनाएको छ ।