२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटकको संख्यामा वृद्धि


156
Shares

काठमाडौं । पछिल्लो समय अन्नपूर्ण पदमार्गमा पदयात्रा गर्ने विदेशी पर्यटकको संख्या बढ्दै गएको छ ।

पदयात्री बढ्दै गएपछि पर्यटन व्यवसायी पनि उत्साहित भएका छन् । कोरोना भाइरस र बाढी पहिरोको प्रकोपपछि अहिले लमजुङ हुँदै पदयात्रा गर्ने बाह्य पर्यटकको संख्यामा वृद्धि भएको हो । त्यस क्षेत्रमा दैनिक १ सय ५० भन्दा बढी पर्यटक पुग्ने गरेका छन् ।

विशेषगरी इजरायल, जर्मनी, फ्रान्स, अष्ट्रेलिया, बेलायत, अमेरिकालगायत देशका पर्यटक बढी जाने गरेका छन् । मङ्सिर र पुसमा हिमपातका कारण सुस्ताएको भए पनि अहिले पुनः चहलपहल बढ्न थालेको पर्यटन व्यवसायिले बताएका छन् । पद यात्राका लागि उपयुक्त मौसम सेप्टेम्बरदेखि नोभेम्बरसम्म र फेब्रुअरीदेखि अप्रिलसम्म मानिन्छ । अन्नपूर्ण पदमार्ग विश्वका १० उत्कृष्ट गन्तव्य मध्ये एक मानिन्छ ।

बेंसी शहरबाट खुदी, भुलभुले, ङादी, स्याँगे, र जगत हुँदै मनाङको बगरछाप पुगेर चामे हुँदै थोराङपास पार गरेर मुक्तिनाथ, जोमसोम, बेनी, घोरेपानीको बाटो भएर पोखरा पुग्ने गरिन्छ ।