
काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले नेपालमा शहरहरूको व्यवस्थापन गर्न नसकिएको बताउनुभएको छ ।
मंगलबार शहरी विकास मन्त्रालयले आयोजना गरेको राष्ट्रिय शहरी नीति, शहरी विकास ऐन र युटिलिटी करिडोर ऐन तर्जुमा सम्बन्धी परामर्श गोष्ठीमा बोल्दै सम्मानित नेता खनालले यस्तो बताउनुभएको हो ।
उहाँले बढ्दो शहरीकरणलाई कसरी व्यवस्थित बनाउन सकिन्छ भन्ने बारेमा गम्भीर भएर सोच्ने बेला आएको पनि बताउनुभयो ।
सम्मानित नेता खनालले अब गाउँ र शहर व्यवस्थित बनाउने नीति निर्माण गर्दा दीर्घकालीन रूपमा समस्या ननिम्त्याउने ढंगको ऐन तर्जुमा गर्नुपर्नेमा जोड दिनुभयो ।
‘हाम्रा जति शहरहरु छन्, ती शहरहरु व्यवस्थित हुन सकिरहेका छैनन्, शहरीकरणकै शुरुवात कसरी भयो भन्ने हो भने, संसारमा झन्डै ४ हजार देखि ३ हजार वर्षको विश्वपोटेमियाको सभ्यतादेखि शुरु भएको कुरा विशेषज्ञहरु भन्ने गर्दछन्,’ उहाँले भन्नुभयो, ‘हाम्रै देशमा पनि मोरङको पूर्वतिर भेडियारी भन्ने ठाउँ छ, त्यहाँ ४ किलोमिटर लामो ४ किलोमिटर चौडा एउटा सिटी पुरिएर बसेको छ ।’
सम्मानित नेता खनालले नेपालका केही स्थानहरूमा पुराना शहरहरू लुकेर रहेको भन्दै तिनको अनुसन्धान र खोजी हुनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्