
काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता जेठमा हुने भएको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता जेठ २२ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।
युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदको बैठकले प्रतियोगिताको मिति तय गरेको युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले सामाजिक सञ्जालबाट जानकारी गराउनुभएको छ । प्रतियोगिता गण्डकी प्रदेशको राजधानी तथा पर्यटकीय नगरी पोखरामा हुनेछ ।
यसअघि आठौं राष्ट्रिय खेलकुद तात्कालिन मध्यपश्चिम रहेको लुम्बिनी प्रदेशमा २०७५ सालमा सञ्चालन भएको थियो । आठौं राष्ट्रिय खेलकुदमा १ सय ४० स्वर्ण, ८२ रजत र ६७ कांस्य पदकसहित कुल २ सय ८९ पदक जितेर त्रिभुवन आर्मी क्लब टिम च्याम्पियनको बनेको थियो ।
यस्तै, नेपाल पुलिस क्लबले दोस्रो र एपीएफ क्लबले तेस्रो स्थान हासिल गरेको थियो । प्रत्येक दुई वर्षमा गर्ने लक्ष्य सहित सुरु गरिएको राष्ट्रिय खेलकुद २०७७ मा गर्नुपर्ने थियो । तर, विश्वव्यापी फैलिएको कोभिड संक्रमणका कारण गत वर्ष राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना नभएको हो ।
प्रतिक्रिया दिनुहोस्