
काठमाडौं । नेकपा (एमाले)बाट पोखरा महानगरपालिकाको प्रमुख र उपप्रमुखका २१ जनाको नाम सिफारिस गरिने भएको छ । दुवै पदमा तीन–तीन जनाको नाम पठाउनुपर्नेमा एमाले महानगर कमिटीको शुक्रबार बसेको बैठकले आकांक्षी सबैको नाम जिल्ला पार्टी कार्यालयमा सिफारिस गर्ने निणर्य गरेको हो । मेयरमा १२ जना र उपमेयरमा ९ जनाले आकांक्षा देखाएकोमा सबैको नाम सिफारिस गर्ने निर्णय भएको हो । शुक्रबार निर्वाचन प्रक्रियाबाट नाम सिफारिस गर्ने तयारी गरिए पनि अन्तिममा जिल्लालाई नै सबै जिम्मा दिइएको छ । मेयरमा दर्शन लामा, दीपकबहादुर पौडेल, राजीव पहारी, रश्मी आचार्य, पुष्पज्योति ढुङ्गाना, भीमबहादुर कार्की, कृष्णबहादुर थापा, पुष्पराज अधिकारी, बालासिंह काउछा मगर, सावित्री भण्डारी, मिनाकुमारी गुरुङ, प्राडा विश्वकल्याण पराजुली आकांक्षी छन् । उपमेयरमा विनकुमारी गुरुङ, सुष्मा पौडेल, शोभामोहन पौडेल, बामदेव ढुङ्गाना, टीकाराम पंगेनी, तेजनारायण अधिकारी, देवका पहारी त्रिपाठी, जीवनप्रसाद आचार्य र बलराम गायक गन्धर्वको दाबी छ ।
नेकपा (एमाले)ले काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवारका लागि पाँच जनाको नाम सिफारिस गरेको छ । एमाले काठमाडौं महानगर कमिटीले मेयरसहित उपमेयरका उम्मेदवारको नाम सिफारिस गरेको हो । एमालेले मेयरको उम्मेदवारका लागि पूर्वमेयर केशव स्थापित, हालका मेयर विद्यासुन्दर शाक्य तथा पूर्वमन्त्री रामवीर मानन्धरका साथै निर्मल देउला र इन्दिरा पन्तको नाम सिफारिस गरेको हो । सिफारिस भएका ५ पाँच जनामध्येबाट पार्टी केन्द्रले मेयरको उम्मेदवार तोक्नेछ । त्यसैगरी उपमेयरका लागि शान्ति अधिकारी, रत्ना गुरुङ, पेम्बा लामा, निना काफ्लेको नाम सिफारिस गरिएको छ ।
ललितपुर महानगरपालिकाको मेयरका लागि नेपाली कांग्रेसले सात जनाको नाम सिफारिस गरेको छ । कांग्रेसको ललितपुर महानगर कार्यसमितिले बर्तमान मेयर चिरिबाबु महर्जनसहित ७ जनाको नाम प्रदेशमा पठाएको हो । सिफारिस हुनेहरूमा बहालवाला मेयर महर्जन र उपमेयर गीता सत्यालसहित नगर सभापति शुभानन धाख्वा, महाधिवेशन प्रतिनिधि भरतलाल न्याँछ्यो, प्रेमकृष्ण महर्जन, अनन्तप्रकाश श्रेष्ठ र महानगरका पूर्वसभापति राजेश महर्जन रहेका छन् । सिफारिस गरिएका नामहरू प्रदेश कमिटीले केन्द्रमा पठाएपछि केन्द्रले उम्मेदवारको टिकट दिनेछ । ललितपुरमा एमालेले हरिकृष्ण व्यञ्जनकारलाई मेयरको उम्मेदवार तोकिसकेको छ ।
लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले पालिका तहमा आफ्नो प्रभाव देखाउन जोडबल गरिरहेका छन् । विगतमा एउटै दलमा रहेर हाल अलग–अलग अस्तित्वमा रहेका यी दुवै दलबीच प्रभाव बढाउने होड चलेको छ । एक अर्काको कार्यकर्ता तान्ने र मतदाता आकर्षित गर्ने अभियानमा दुवै दल सक्रिय देखिएका छन् । लुम्बिनी प्रदेशका ८ स्थानीय तहमा जसपा नेपाल (तत्कालीन संघीय समाजवादी) पार्टीले जितेको थियो । तर, अहिले केही स्थानीय तहका प्रमुखहरू लोसपातिर लागेका छन् । प्रदेशका ४ जिल्लामा लोसपा र जसपाको संगठन बलियो छ । तराईका यी जिल्लामा पार्टी विभाजनको असर कस्तो पर्ला र आसन्न स्थानीय तहको निर्वाचनमा जसपा नेपाल र लोसपा नेपालमध्ये को बलियो होला भन्नेबारे चासो बढेको छ । जसपा सत्तारुढ गठबन्धनमा रहेकाले आफ्नो जनाधार रहेका पालिकामा प्रमुख पद माग गरेको छ ।
संखुवासभाको खाँदबारी लगातार पाँच दिनसम्म चलेको सत्तारुढ गठबन्धनको बैठकले तालमेलको सहमति जुटाउन सकेको छैन । शुक्रबार बसेको गठबन्धनको बैठकमा भागबण्डाको कुरा नमिलेपछि गठबन्धनका नेताहरू विनानिष्कर्ष उठेका छन् । गठबन्धनका संयोजक एवम् कांग्रेस सभापति दीपक खड्काका अनुसार माओवादी केन्द्रले आफ्नो मतभारभन्दा बढी भाग खोजेकाले उसँग गठबन्धन हुने सम्भावना सकिएको छ । तर बाँकी दलहरूसँग छलफल हुने उहाँको भनाइ छ । उहाँले माओवादीले कांग्रेसले जितेको ठाउँमा पनि दाबी गरेको बताउनुभयो । माओवादी केन्द्र बाहेक नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासँग भने जिल्ला स्तरमा छलफल हुने खड्काको भनाइ छ । माओवादी केन्द्रका केन्द्रीय एवम् संखुवासभा इन्चार्ज राजेन्द्र कार्कीले पनि जिल्ला स्तरमा तालमेलको सहमति जुट्ने सम्भावना सकिएको बताउनुभयो । कांग्रेसको अन्तरविरोधका कारणले तालमेलमा सहमति जुट्न नसकेको उहाँको भनाइ छ । गएको २०७४ को निर्वाचनमा संखुवासभामा कांग्रेसले दुई नगरपालिका सहित ५ स्थानीय तह जितेको छ । बाँकी स्थानीय तह नेकपा एमालेले जितेको छ । संखुवासभामा ५ नगरपालिका र ५ गाउँपालिका छ ।
काठमाडौं महानगरपालिकाको मेयरकी स्वतन्त्र उम्मेदवार सुनिता डंगोलले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्नुभएको छ । ८ खम्बे विकासको मोडलसहित डंगोलले चुनावी घोषणापत्र सार्वजनिक गर्नुभएको हो । ‘स्वच्छ, जीवन्त, सांस्कृतिक नगर, व्यवस्थित काठमाडौं महानगर’ भन्ने मुल नाराका साथ उहाँले आफ्नो चुनावी घोषणापत्रका रूपमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन गरी तीन खाले योजना तय गर्नुभएको छ । उहाँले आठ खम्बे विकास मोडलमा स्वच्छ वातावरण, यातायात व्यवस्थापन, राजधानीका रूपमा पूर्वाधार विकास, सांस्कृतिक नगर, सामाजिक विकास, डिजिटल काठमाडौं, यूवा, खेलकूद, रोजगारी तथा उद्यमशीलता र रिसर्च एण्ड डेभलपमेण्ट रहेका छन् ।
कर्णाली प्रदेशमा आसन्न स्थानीय तहको चुनावमा भाग लिने दलको संख्या समेत कम देखिएको छ । अन्य प्रदेशको तुलनामा चुनावमा भाग लिने दलको संख्या कर्णालीमा कम देखिएको हो । कर्णालीकै हिमाली जिल्ला डोल्पामा ११ र प्रदेश राजधानी रहेको सुर्खेतमा २५ राजनीतिक दलले स्थानीय तहको चुनावमा भाग लिन लागेका छन् । रुकुमपश्चिममा १२, सल्यानमा १२, मुगुमा १५, जुम्लामा १४, हुम्लामा १५, कालिकोटमा २०, जाजरकोटमा १२ र दैलेखमा १४ दलले निर्वाचनमा भाग लिने प्रदेश निर्वाचन कार्यालय सुर्खेतका प्रमुख दुर्गा चालिसेले जानकारी दिनुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने विषयमा निर्णय नभएको स्पष्ट पार्नुभएको छ । चितवनमा शुक्रबार पत्रकारसँग कुरा गर्दै उहाँले अन्य पार्टीसँग पनि औपचारिक रूपमा गठबन्धनको कुरा नचलाएको जानकारी दिनुभयो । यसपालिको निर्वाचनमा राप्रपा देशैभर आफ्नो सामथ्र्यले लड्ने अध्यक्ष लिङ्देनको भनाइ छ । शिक्षाको विकास र सुधार नभएसम्म अन्य विकासले पूर्णता नपाउने जनाउँदै उहाँले स्थानीय तहमा राप्रपाले निर्वाचन जितेका ठाउँहरूमा निःशुल्क शिक्षा दिने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्