१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सत्तारुढ दलहरूबीचनै प्रतिस्पर्धा हुनसक्छ : प्रवक्ता महत


247
Shares

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलहरूबीचनै प्रतिस्पर्धा हुनसक्ने बताउनुभएको छ ।

एमालेले चुनाव हार्ने तर सत्तारुढ गठबन्धन दलहरूबीच भने आफैंले चुनाव जित्छु भन्ने लागेमा त्यहाँ फ्रेन्डली प्रतिस्पर्धा हुने प्रवक्ता महतको भनाइ छ ।

शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्य सम्पादन समितिको बैठक चलिरहेका बेला उहाँले सञ्चारकर्मीमाझ गठबन्धन दलले भने कुनै पनि अवस्थामा एमालेसँग चुनावी तालमेल गर्न नमिल्ने गरी शीर्ष तहमा सहमति गरिएको स्पष्ट पार्नुभयो ।

कुनै ठाउँमा गठबन्धन दलहरूबीचमै आ–आफ्नो दावी रह्यो भने त्यहाँ चुनावी प्रतिस्पर्धा हुने प्रवक्ता महतले बताउनुभयो । प्रवक्ता महतले महानगरपालिका र उपमहानगरपालिका मेयर, उपमेयर बाहेकका सबै स्थानीय तहको उम्मेदवार सम्बन्धित कमिटीहरूकै गठबन्धनले तय गर्ने स्मरण गराउनुभयो ।

त्यहाँ कुनै समस्या भए तत्काल केन्द्रमा जानकारी गराउन पनि उहाँले स्थानीय गठबन्धन दलहरूलाई सचेत गराउनुभयो । प्रवक्ता महतका अनुसार पार्टीको जारी केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा महानगरपालिकाका मेयर, उपमेयर तय गर्ने मोडालिटीको बारेमा छलफल भइरहेको छ ।