२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सत्तारुढ दलहरूको बैठक निष्कर्षविहीन

साँझ बस्ने बैठकले उम्मेदवारको टुङ्गाे लगाउने दावी

533
Shares

काठमाडौं । सत्तारुढ दलहरूको बैठक निष्कर्षविहीन भएकाे छ ।

स्थानीय तहको निर्वाचनमा तालमेलका लागि सिट भागबण्डा गर्न बसेको सत्ता गठबन्धनको बैठक स्थगित भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा (साेमबार) बिहान बसेको बैठक साँझ पुनः बस्ने गरी स्थगित भएको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो ।

बेलुकासम्म सिट बाँडफाँटको टुङ्गो लगाउने गरी बैठक स्थगित भएको नेताहरूले बताएका छन् । महानगर र उपमहानगरमा भागबण्डाकाे विषयमा आएका समाचार सही नभएको उनीहरूकाे दावी छ ।

गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले चुनावमा तालमेल गर्ने सहमतिपछि कुन स्थानीय तहमा कसले कति पद लिने भन्ने विषयमा छलफल गरिरहेका छन् ।

तालमेलका लागि गठबन्धनले यसअघि नै सात बुँदे मापदण्ड जारी गरिसकेको छ । साेमबारको बैठकले मूलतः ६ महानगरपालिका र ११ वटा उपमहानगरपालिकाको सिट बाँडफाँट गर्ने तयारी गरेको छ।

गठबन्धनको चुनावी तयारी, परिचालन तथा अनुगमन समितिले आइतबार साे विषयमा गृहकार्य गरेको थियो । तर, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले धेरै सिटमा दावी गरेपछि त्यस विषयमा कुनै सहमति भने भइसकेको छैन ।

आइतबार बिहान छलफल गरेका शीर्ष नेताहरूले भने साेमबार महानगरपालिका र उपमहानगरपालिकाको सिट बाँडफाँट टुङ्गाे लगाउने समझदारी समेत बनाएका थिए ।