१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


जसपाको घोषणापत्र : आधारभूत सेवा घरमै पुगेर दिइने, पानीको शुल्क २ सयसम्म मिनाहा


585
Shares

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल(जसपा)ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

स्थानीय तह चुनावका सन्दर्भमा जसपाले सार्वजनिक गरेको घोषणापत्रमा आमजनतालाई आधारभूत सेवा घरमै पुगेर दिने वाचा गरिएको छ । जन्मदर्ता, मृत्युदर्ता जस्ता आधारभूत सेवा घरमै पुगेर दिने घोषणा गरिएको छ ।

यस्तै, पानीको महसुल २ सय रुपैयाँसम्म मिनाहा गर्ने, हरेक स्थानीय तहमा बर्थिङ सेन्टर बनाउने जसपाको प्रतिवद्धता छ । विद्यालय र टोलटोलमा निःशुल्क इन्टरनेट सेवा दिने घोषणापत्रमा उल्लेख छ ।

देशको आर्थिक विकासका लागि संघीय, प्रादेशिक तथा स्थानीय सरकार, निजी क्षेत्र र जनसमुदायको संयुक्त प्रयास र साझेदारीमा उपलब्ध प्राकृतिक एव मानवीय स्रोत साधनको प्रभावकारी परिचालन गर्ने नीति लिने जसपाको भनाइ छ ।

प्रशासनिक सेवा प्रदान गर्ने मात्र नभएर उनीहरूको आय स्रोत बढाउने र लगानी मैत्री वातावरण तयार पार्ने काम जनप्रतिनिधिले गर्ने घोषणापत्रमा उल्लेख छ । यस्तै भ्रष्टाचारमा शून्य सहनशीलता कडाइका साथ लागू गरिने, जनप्रतिनिधिले भ्रष्टाचार गरे तुरुन्त कारबाही गरिने उल्लेख छ ।

गैरआवासीय नेपाली, अन्यत्र बसाइँसराई गरेका पूर्वबसोबासीहरूको सञ्जाल तयार गरी स्थानीय लगानी सम्मेलन तथा भेला आयोजना गरिनेसमेत घोषणापत्रमा उल्लेख छ ।

‘समाजमा विद्यमान लैङ्गिक विभेद, रूढीवाद, अन्धविश्वास, कुप्रथा, जातपात, छुवाछुत, नश्ल, वर्ण वा रंगभेदी भावना विरूद्ध स्थानीय तहले सामाजिक जागरण गर्नेछन्,’ घोषणापत्रमा भनिएको छ, ‘सामाजिक जीवन पद्धतिलाई वैज्ञानिक, आधुनिक, समतामुलक, मानवीय र गरिमायुक्त बनाउँदै लगिनेछ । ’

समाजको स्थानीय विविधताअनुरूप समावेशितालाई मूर्त बनाइने घोषणापत्रमा लेखिएको छ ।