१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बैशाख ११ र १२ गते स्थानीय निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न आयोगको अपिल


416
Shares

काठमाडौं । निर्वाचन आयोगले बैशाख ११ र १२ गते (भोलि र पर्सी) स्थानीय तह निर्वाचनमा उम्मेदवारी दर्ता गर्न राजनीतिक दल र सरोकारवाला निकायलाई अपिल गरेको छ ।

निर्वाचन आयोगले शनिबार गरेको नियमित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बैशाख ११ र १२ गते बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म बैशाख ३० गतेदेखि हुने स्थानीय तह निर्वाचनका लागि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारी दर्ता गर्न आह्वान गर्नुभएको हो ।

आयोगले निर्वाचनमा योग्यता पुगेका सबै मतदाताहरूलाई रुचाएको पदमा उम्मेदवारी दिनसक्ने वातावरण बनाइदिन पनि सबै राजनीतिक दल, नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, स्थानीय प्रशासन, सुरक्षा निकाय, नागरिक समाज, आमसञ्चार क्षेत्रलगायत सबै सरोकारवालालाई आग्रह गरेको छ ।

उम्मेदवारी मनोनयनमा चाप पर्न नदिन दुई दिन उम्मेदवार मनोनयनका लागि समय दिइएको पनि आयोगले स्पष्ट पारेको छ । आयोगका प्रवक्ता पौडेलले २०७४ सालको स्थानीय तह निर्वाचनमा एकै दिन मनोनयन गर्दा अत्याधिक चाप देखिएकाले त्यसो हुन नदिन यो पटक दुई दिनको समय दिनुपरेको बताउनुभयो ।

निर्वाचन आयोगले पत्रकार भेटघाट कार्यक्रममा बैशाख १६ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने र १७ गते भोलिपल्ट उम्मेदवारहरूलाई चुनाव चिन्ह प्रदान गर्ने आयोगको निर्वाचन कार्यतालिकाबारे पनि स्मरण गराइएको छ ।

स्थानीय तह निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयमुक्त वातावरणमा सम्पन्न गराउने विशेष जिम्मेवारी राजनीतिक दल र तिनका उम्मेदवारहरूको रहेको उल्लेख गर्दै आयोगका प्रवक्ता पौडेलले सोही जिम्मेवारी पूरा गर्न उनीहरू समक्ष हुने विश्वास समेत व्यक्त गर्नुभयो ।

आयोगले नेपालको संविधानले व्यवस्था गरेको महिलाहरूसहितको समावेशी समानुपातिक प्रतिनिधित्व सुनिश्चित हुने गरी निर्वाचनमा उम्मेदवारी तय गर्न संवेदनशील भइदिन पनि राजनीतिक दलहरूलाई सचेत गराएको छ ।

आयोगले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न पनि राजनीतिक दलहरू र तिनका उम्मेदवारहरूको गम्भीर ध्यानाकर्षण गराएको छ । अन्यथा कारबाहीको भागीदार बन्नुपर्ने आयोगका प्रवक्ता पौडेलले बताउनुभयो ।