
काठमाडौं । वीरगञ्ज नाकाबाट हुने निर्यातमा उलेख्य वृद्धि भएको छ ।
गत आर्थिक वर्षको नौ महिनाको तुलनामा चालूआवको सोही अवधिमा नेपाली वस्तुको निर्यात १ सय २० प्रतिशतले बढेको हो। यस अवधिमा ६९ अर्ब ७० करोड ६७ लाख रुपैयाँ भन्दा बढी मूल्यको नेपाली वस्तु निर्यात भएको छ । गत वर्ष सोही अवधिमा ३१ अर्ब ७६ करोड ४६ लाख भन्दा बढी मूल्यको नेपाली वस्तु मात्र निर्यात भएको थियो ।
वीरगञ्ज नाका हुँदै भारत तथा तेस्रो मुलुकतर्फ निकासी हुने मुख्य वस्तुमा भटमासको प्रशोधित तेल, प्रशोधित पाम आयल, फलफूलको जुस, सूर्यमुखीको प्रशोधित तेल, दालमोठ कपडा लगायतका वस्तु रहेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ।
गत आर्थिक वर्षको पहिलो नौ महिनाको तुलनामा चालू आवको सोही अवधिमा करिब २५ प्रतिशत बढी राजस्व सङ्कलन भएको छ । गत आर्थिक वर्षको पहिलो नौ महिनामा १ खर्ब २४ अर्ब ७७ करोड ५२ लाख राजस्व सङ्कलन भएको थियो ।
यस आर्थिक वर्षमा एक खर्ब ५५ अर्ब ३८ करोड २९ लाख राजस्व सङ्कलन गर्न सफल भएको वीरगञ्ज भन्सारले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्