१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


जनकपुरको मेयरका लागि नौ जनाको उम्मेदवारी दर्ता


325
Shares

जनकपुरधाम । मधेश प्रदेशका राजधानी जनकपुरधाम उपमहानगरपालिका नेतृत्वका लागि मनोयन दर्ताको दोश्रो दिन स्वतन्त्र सहित विभिन्न दलका ९ जनाले उम्मेदवारी दिएका छन् ।

सोमबार निकै कडा सुरक्षाका बीच उपमहानगरपालिकाको कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा स्वतन्त्रबाट ४ जना र राजनीतिक दलबाट ५ जना सहित ९ जनाले उम्मेदवारी दिनुभएको छ ।

मेयर पदमा स्वतन्त्रतर्फ कांग्रेसका बागी उम्मेदवार मनोज साह, हालैमा लोसपाबाट एमाले प्रवेश गरेपनि टिकट नपाएका जानकीराम साह, बलराम महतो र बैद्यनाथ साह उम्मेदवारी दिनुभएको छ ।

त्यस्तै राजनीतिक दलतर्फ एमालेबाट शिवशंकर साह हिरा, लोकतान्त्रिक समाजवादी पार्टीबाट मनोज चौधरी, सत्तारुढ गठबन्धनका घटक दल जनता समाजवादी पार्टीबाट निवर्तमान मेयर लालकिशोर साह, तराई मधेश लोकतान्त्रिक पार्टीबाट विभा ठाकुर र नेपाल जनता पार्टीबाट मुरली मनोहर मिश्रले मेयर पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।

सत्ता गठबन्धनको चुनावी तालमेलको भागबण्डामा मेयर पद जसपाको भागबण्डामा परेपछि कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टीले आफ्नो उम्मेदवार दिन सकेन ।

कांग्रेस गढ मानिएका जनकपुरधाममा मेयर पद जसपामा गएपछि कांग्रेस नगर सभापति मनोज साह पार्टीबाट राजीनामा दिई स्वतन्त्रमा उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिनु भएकाहरूले आ–आफ्नो जीत सुनिश्चित रहेको दाबी गर्नुभएको छ ।

जनकपुरधाम उपमहानगरको नेतृत्वका लागि उम्मेदवारी दिनुभएकाहरूले भ्रष्टाचार शून्यमा झार्नेदेखि जनकपुरधामलाई पोखरा काठमाडौं जस्तै विकसित बनाई दिने र सय दिनभित्र विकासशील नयाँ जनकपुरधाम दिने लगायतका प्रतिबद्धता जनाउनुभएको छ।

कांग्रेसबाट बागी भई उम्मेदवारी दिएका मनोज साहले भने नेपाली कांग्रेस केन्द्रीय समितिले पार्टीलाई ध्वस्त पार्ने गरी गठबन्धनको नाममा जसपाका सुम्पिए दिएकोले जनकपुरधाम सँगसँगै पार्टी बचाउन उम्मेदवारी दिएको बताउनुभयो ।

जनकपुरधामलाई स्वच्छ, सफा र फोहरमुक्त बनाउने अभियान सहित यहाँ शिक्षा, स्वास्थ्यको स्तरोन्नतिका साथै समग्र विकासका लागि आफूले उम्मेदवारी दिएको लोसपाका उम्मेदवार मनोज चौधरीले बताउनुभयो ।

त्यस्तै स्वतन्त्र उम्मेदवार निर्माण व्यवसायी बलराम महतोले आफ्नो जीत सुनिश्चित रहेको दाबी गर्दै आफूलाई पैसाको कुनै लोभ लालच नरहेकोले समाज सेवा गर्न उम्मेदवारी दिएको भन्नुभयो ।

एमालेका उम्मेदवार शिवशंकर साह हिराले आफ्नो उम्मेदवारी भ्रष्टाचारमुक्त जनकपुरधाम उपमहानगर बनाउने उद्देश्यले रहेको बताउनुभयो ।

त्यस्तै हालैमा लोसपा परित्याग गरी एमाले प्रवेश गर्दा पनि टिकट नपाउंदा स्वतन्त्रमा उम्मेदवारी दिएका जानकीराम साहले नयाँ जनकपुरधाम निर्माण गरी टिकट बेचुवाहरुलाई तह लगाउन आफूले स्वतन्त्रमा उम्मेदवारी दिएका बताउनुभयो ।

जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएकाहरूले निकै तामझाका साथ दलबल सहित नगरभित्र आफ्नो शक्ति प्रदर्शन गर्दै निर्वाचन अधिकृतको कार्यालय उम्मेदवारी दर्ता गराउन पुगेका थिए ।

कोही बैण्डबाजा सहित त कोही डिजे बाजा बजाउँदै आ–आफ्ना पार्टी र उम्मेदवारको समर्थनमा नाराबाजी गर्दै मनोयन दर्तास्थलमा पुगेका थिए ।

त्यस्तै उपमेयरतर्फ एमालेबाट रुना झा, कांग्रेसबाट किशोरी साह, लोसपाबाट रीता मिश्र र तमलोपाबाट ईश्वर पण्डित तथा स्वतन्त्रबाट निर्मल चौधरी, सरोज मिश्रले उम्मेदवारी दिनुभएको छ ।