२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


कर्णालीमा औलो संक्रमण, ३२ विरामी भेटिए


156
Shares

काठमाडौं । कर्णाली प्रदेशका विभिन्न भेगमा औलो रोगको सङ्क्रमण रहेको पाइएको छ ।

चालु आर्थिक वर्षमा प्रदेशमा ३२ जना औलोको विरामी फेला परेका छन् । हुम्लाको ताजाकोट गाउँपालिका, मुगुको खत्याड गाउँपालिका तथा कालिकोटको खाँडाचक्र नगरपालिका औलो रोगको उच्च जोखिममा रहेका स्थानमा पर्दछन् ।

त्यस्तै मध्यम जोखिममा हुम्लाको अदानचुली गाउँपालिका, चङ्खेली गाउँपालिका, सर्केगाड गाउँपालिका, ताजाकोट गाउँपालिका, सुर्खेतको भेरीगङ्गा नगरपालिका, वीरेन्द्रनगर नगरपालिका, गुर्भाकोट नगरपालिका, लेकबेंसी नगरपालिका र पञ्चपुरी नगरपालिका रहेका छन् ।

कर्णालीमा अधिकांश भारतबाट फर्कने नागरिकमा औलो फेला परे पनि जलवायु परिवर्तन तथा हिमाली क्षेत्रमा तापक्रम वृद्धिका कारण लामखुट्टे देखिन थालेपछि यसको प्रभाव विस्तार भएको बताइएको छ । प्रदेशमा सबैभन्दा बढी बिरामी सुर्खेतमा १४ जना छन् ।

हुम्लामा पाँच, मुगुमा छ, कालिकोटमा तीन, दैलेखमा एक, सल्यानमा दुई र रुकुमपश्चिममा एक जना छन् । मलेरिया भनेर चिनिने यो रोग ‘प्लाज्मोडियम’ नामक परजीविका विभिन्न जातहरूबाट हुने गर्दछ ।

‘एनोफिलिज’ जातको पोथी लामखुट्टेले स्वस्थ मानिसमा टोक्दा मलेरियाका परजीवि सर्ने गर्दछन् । नेपाल सरकारले सन् २०२५ सम्म नेपाललाई पूर्ण अ‍ैलोमुक्त बनाउने राष्ट्रिय रणनीति बनाएके छ ।