
काठमाडौं । स्थानीय तह निर्वाचनमा बागी उम्मेदवारी दिएकाहरुलाई उम्मेदवारी फिर्ता लिन नेपाली कांग्रेसले निर्देशन दिएको छ ।
निर्देशनको अवज्ञा गरी फिर्ता नलिए उम्मेदवार, उम्मेदवारको प्रस्तावक र समर्थक पार्टीबाट स्वतः निष्कासित हुने चेतावनी कांग्रेसले दिएको हो ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज शुक्रबार विज्ञप्ति निकाली पार्टीको आधिकारिक उम्मेदवारविरूद्ध बागी उम्मेदवारी दिएको भए आज शुक्रबार १० देखि ५ बजेभित्र फिर्ता लिन आग्रह गर्नुभएको हो । तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा त्यस्ता विद्रोही उम्मेदवार, निजको प्रस्तावक र समर्थकको पार्टी सदस्यता नेपाली कांग्रेसको विधानअनुसार समाप्त हुने र पार्टीबाट स्वतः निष्कासित हुने विज्ञप्तिमा उल्लेख छ ।
यसअघि प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले पनि विद्रोही उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन अपिल गरेका थिए । तर, केही विद्रोही उम्मेदवारले मात्र उम्मेदवारी फिर्ता लिएका छन् । धेरै ठाउँमा लिएका छैनन् ।
यस्तै, सत्ता गठबन्धनको बैठकले पनि आधिकारिक उम्मेदवारविरूद्ध बागी उठेकाहरुलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेको छ । सत्ता गठबन्धनको चुनावी तयारी तथा अनुगमन समिति बैठकले आज अपरान्ह ५ बजेभित्र आफ्नो उम्मेदवारी फिर्ता लिन बागी उम्मेदवारलाई आग्रह गरेको हो ।
प्रतिक्रिया दिनुहोस्