१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पार्टीले गरेको कारबाहीको अर्थ नभएको ओली र बास्तोला पक्षको निष्कर्ष


1.846k
Shares

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबाट कारबाहीमा परेका हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोला पक्षको भेलाले पार्टीले गरेको कारबाहीको अर्थ नभएको निष्कर्ष निकालेको छ ।

हेमन्तप्रकाश र धर्मेन्द्र पक्षको भेलापछि एक प्रेस विज्ञप्ति जारी गर्दै विप्लवले गरेको कारबाही खारेज गर्दै आफ्ना सम्पूर्ण गल्ती सच्याउन उहाँलाई आग्रह गरिएको छ ।

विज्ञप्तिमा हेमन्तप्रकाश र धर्मेन्द्र पक्षले पार्टी निर्माणमा लाग्न केन्द्रीय समिति, जनवर्गीय संगठन, सहिद, वेपत्ता परिवार, घाइते तथा अपाङ्ग र राजबन्दी सबैलाई आग्रह पनि गरेको छ ।

विप्लवमा वामपन्थी खोलभित्र दक्षिणपन्थी अवसरवाद देखिएकाले त्यसका विरुद्ध संघर्ष गरेको हेमन्तप्रकाश धर्मेन्द्र पक्षको भनाइ छ ।

आफूहरूमाथि विभिन्न तत्वबाट उक्साएको भन्ने आरोप केवल आरोपकै पराकाष्ठा मात्रै भएको उनीहरुले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

चुनावी कार्यनीतिले पार्टीलाई विभाजनको स्थितिमा लैजाँदा पनि पार्टी एकताभन्दा चुनाव नै प्रधान बनाउन विप्लवलाई कसले प्रेरित गरेको छ भन्दै हेमन्तप्रकाश र धर्मेन्द्र पक्षले प्रश्न समेत गरेका छन् ।