
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेस पार्टी आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा राष्ट्रियरुपमा विजयी बन्ने दाबी गर्नुभएको छ ।
आइतवार काठमाडौंमा भएको एक कार्यक्रममा महामन्त्री शर्माले यस्तो दाबी गर्नुभएको हो ।
उहाँले कांग्रेसले स्थानीय तहको निर्वाचनमा विजयको कुरा मात्र नसोचेर समाजलाई एकै ठाउँ कसरी उभ्याएर जाने ? भन्ने बारेमा पहलकदमी गरिरहेको समेत बताउनुभयो ।
महामन्त्री शर्माले स्थानीय निर्वाचनमा कांग्रेस बलियो बन्ने देखेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त्रासपूर्ण अभिव्यक्ति व्यक्त गर्दै आएको टिप्पणी गर्नुभयो ।
केही दिनअघि नेकपा एमालेका अध्यक्ष ओलीले एक सार्वजनिक कार्यक्रममा गठबन्धनका ५ दल एक एक किलोको ढक र नेकपा एमाले एक्लै क्विन्टल भएको अभिव्यक्ति दिनुभएको थियो । त्यसप्रति इंगित गर्दै महामन्त्री शर्माले नेकपा एमाले एक क्विन्टल आलु भएको तर गठबन्धन एक÷एक तोला मात्र भएपनि सुन भएको जिकिर गर्नुभयो ।
महामन्त्री शर्माले नेकपा एमालेले बाहिर एक्लै भिड्न तयार रहेको अभिव्यक्ति दिएपनि भित्र भने कमल थापासँग तालमेल गरिरहेको बताउनुभयो । उहाँले काठमाडौं महानगरपालिकामा यस पटक सिर्जना सिंहको नेतृत्वमा बहुसंख्यक जित दर्ता गर्ने दाबी गर्नुभयो ।
महामन्त्री शर्माले कांग्रेसले तालमेलबाट पहिलो भएर शक्ति सञ्चय गर्न चाहेको र त्यसपछिका निर्वाचनमा रुख चिन्हलाई विजयी गराएर १५ वर्षभित्रमा नेपाललाई विकासशील राष्ट्र बनाउने प्रतिवद्धता जनाउनु भयो ।
प्रतिक्रिया दिनुहोस्