
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले नेपाली फुटबलमा देखिएको विवाद चाँडै समाधान गर्नुपर्ने बताएका छन् ।
मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीका कारण राष्ट्रिय टोलीको क्याम्प छाडेका १० खेलाडीको समस्या सुनेपछि सदस्य सचिव घिसिङले यस्तो बताएका हुन् । त्यसअघि खेलाडीले नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघलाई भेटेर अहिले देखिएको समस्याबारे जानकारी गराएका थिए ।
त्यसपछि एनएनआईपीए अध्यक्ष दिपक श्रेष्ठ, नेपाल ओलम्पिक एसोसिएसनका अध्यक्ष दिपक विष्ट, एन्फा अन्तर्गतका खेलाडी संघका अध्यक्ष विक्रम लामा र क्याम्प बाहिर रहेका १० खेलाडीले सदस्य सचिवलाई भेट गर्दै अहिलेसम्म भएका घटनाक्रम सुनाएका थिए ।
खेलाडीको कुरा सुनेपछि सदस्य सचिव घिसिङले विवादबारे आफूले एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पासँग चाँडै निकास दिन मौखिक रूपमा भनिसकेको बताए । एन्फा अध्यक्षले यसबारे छलफल भइहरेको भनेर जानकारी गराए पनि ठोस निर्णय नगरेको उनको भनाइ छ ।
एनएनआईपीएका अध्यक्ष दिपक श्रेष्ठले प्रशिक्षकको काम खेलाडीलाई सिकाउने भन्दै व्यवस्थापन पाटो हेर्ने काम व्वयस्थापनको रहेको बताए । नेपाल ओलम्पिक संघका अध्यक्ष दिपक विष्टले अहिलेको विवादले गर्दा खेलाडीहरूमाथि मानसिक तनाव भएको बताए ।
खेलाडीहरूले भने सदस्यसचिव सामू यसबारेमा निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन् । यसअघि खेलाडीले सोमबार खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजसँग भेटेर आफ्ना कुरा राखेका थिए । गत मंगलबार खेलाडीले बन्द प्रशिक्षण छाडेको घटनाबाट सुरु भएको विवाद एक साता लम्बिँदा पनि अहिलेसम्म निकास भने आएको छैन ।
प्रतिक्रिया दिनुहोस्