१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बर्दियामा उम्मेदवारका प्रतिवद्धता नारामै सीमित

उम्मेदवारले झुटो बोलेको स्थानीयवासीकाे आरोप

169
Shares

बर्दिया । उम्मेदवारका प्रतिवद्धता नारामै सीमित भएकाे बर्दियाका स्थानीयवासीले गुनासाे गरेका छन ।

स्थानीय तहको निवार्चन आउनै लाग्दा बर्दियामा राजनीतिक दलहरु आ–आफ्ना प्रतिवद्धतासहित घरदैलोमा जुटेका छन ।२०७४ सालको स्थानीय तहकाे निवार्चनमा बर्दियाको राजापुर नगरपालिकाको केन्द्र राजापुर बजारका बासिन्दालाई स्थायी जग्गाधनी पूर्जा दिलाउने भनी सबै दलले प्रतिवद्धता व्यक्त गरेका थिए । तर स्थानीय सरकारको ५ वर्षे कार्यकाल सकिंनै लाग्दा स्थायी जग्गाधनी पूर्जा नपाएकाले उनीहरुले उम्मेदवारको प्रतिवद्धता नारामै सीमित भएको बताएका छन ।

स्थानीय तह निवार्चन २०७९ का लागि बर्दियाको राजापुर नगरपालिकामा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्रबाट मेयर पदमा उम्मेदवारी दिएका छन । उम्मेदवारहरु विभिन्न प्रतिवद्धतासहित चुनावी मैदानमा होमिएका हुन् । सबै दलले गाँस, बास र कपासको पूर्ण ग्यारेन्टीसहित थुप्रै प्रतिवद्धताहरु जनतासामु राखेका छन ।

अघिल्लो स्थानीय तह निवार्चन २०७४ मा सबै दलको मुख्य एजेण्डामा परेको राजापुर बजारका बासिन्दालाई स्थायी जग्गाधनी पूर्जा दिने प्रतिवद्धता सबै दलले अघि सारेका छन । तर आश्वासनमै ५ वर्ष बिताएकाले यो प्रतिवद्धता नारा मात्रै भएको राजापुर–४ का विष्णु रिजालको तर्क छ ।

यहाँका व्यापारीले व्यापार व्यवसाय गर्न थालेको वर्षाैं भएकाे छ । अहिले पनि पालिकालाई जग्गा र व्यवसाय कर तिरिरहेका छन । तर, उनका नाममा धनी पूर्जा छैन । धनी पूर्जा नहुँदा बैंकबाट कर्जा लिन पाइरहेका छैनन् । राजापुरमा बसोबास गर्दै आएका अधिकांशले जहिले पनि आफूहरूलाई भोट बैंकका रूपमा आश्वासन बाँड्दै लालपूर्जा दिने भनिएपनि चुनाव सकिएपछि वास्ता नहुने गरेको गुनासो गर्दै आएका छन ।

यहाँका बासिन्दाले धनी पूर्जाको आश गर्दागर्दै ५० वर्ष कटिसक्यो । झन्डै ३ सय घरपरिवारले अहिलेसम्म जग्गाधनी पूर्जा पाएका छैनन् । विगतका निर्वाचनमा यहाँका जनप्रतिनिधिको एउटै एजेन्डा धनी पूर्जा उपलब्ध गराउने थियो । आउदो वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनमा पनि दलका प्रतिनिधिले स्थायी जग्गाधनी पूर्जा बाडिने बताउदै प्रचारप्रसार गरिरहेका छन ।

अझैपनि दलहरुले गरेका प्रतिवद्धताहरु पूरा गर्ने हो कि नारामा मात्रै सीमित राख्ने ?