९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


कोरोना संक्रमण, लकडाउन र चिया बहस


52
Shares

-निस्कल राई

बिहानै जिल्लाबाट फोन आयो । आँखा मिच्दै फोन ‘रिसिभ’ गरें । सूर्योदय नगरपालिका निवासी दाई राम बहादुर तिम्सिनाले विलह पोख्दै भन्नुभयो–‘भाइ यहीँ चियाको भरमा हातमुख जोडिन्थ्यो । तर, लकडाउन (बन्दाबन्दी)ले पहिलो टिपाई टिप्नै पाइएन । चिया हुर्किएर गयो । अब दुई छाक टार्न, छोराछोरीलाई पढाउन समस्या हुने भयो ।’ फोन काटियो । यसै पनि बन्दाबन्दीले अल्छे बनाएको शरिर, सुतेरै सम्झिए ए हो ! मेरो घरमा पनि पहिलो चरणको चिया टिपाइ हुन पाएको छैन । कलिलो मुना हुर्केर गयो होला । मेरो काठमाडौं बसाई, यहाँको खर्च, पढाई सबै चियामै आश्रित छ, अब के हुन्छ रु फेरी सम्झिए समस्या मेरो घरको मात्र होइन २२५।५२ वर्ग किलोमिटर क्षेत्रफलमा रहेको सूर्योदय नगरमा बसोबास गर्ने ५८ हजार १ सय ३० जनसंख्या तथा १३ हजार २१ घरघुरीका  मानिसहरुको हो । नगरबासी सबैको बिचल्ली हुने अवस्था देखियो ।

चिया खेती इलामको पहिचान हो । जिल्लाको प्रमुख नगदेवाली हो । सूर्योदय नगरपालिकाको आयस्रोतको मेरुदण्ड नै हो । जनताको बाच्ने आधार हो । नेपालमा उत्पादन हुने चिया राज्यको आर्थिक मेरुदण्डको हो । नेपालको ग्राहस्थ उत्पादन(जीडीपी) मा ०.०१०६ प्रतिशत योगदान चियाको छ । चियाको पहिलो उत्पादन र कलिलो मुनालाई गुणस्तरको हिसावले पनि धेरै महत्व दिइन्छ । तर विडम्वना चियामा आश्रित किसासनहरुले त्यसलाई टिपेर बेच्न धेरै समस्या झेल्दै आउनुपरिरहेको छ । अचानक हुने बन्द र आम हड्तालका कारण घरमै बसेर हुर्किदै गरेको मुनालाई टुलुटुलु हेरेर बस्नुको विकल्प छैन ।

इलाम जिल्लाभित्रको पनि अत्याधिक चिया उत्पादन हुने सूर्योदय नगरभित्र साना तथा ठूला गरेर ६१ वटा चिया उद्योगहरु छन् । उद्योगहरुका आफ्नैखाले समस्याहरु छन् । किसानहरुको समस्या उस्तै छन् । यतिबेला कोरोना भाईरसको संक्रमणका कारण विश्व अर्थतन्त्र र चियाको बजार संकटमा छ । नेपालको ९० प्रतिशत भन्दा बढी चिया विक्री हुने भारत पनि कोरोना संक्रमणले लकडाउन अवस्थामा छ । यस्तै जर्मनी, फ्रान्स, अष्ट्रेलिया, डेनमार्क, जापान आदी राष्ट्र पनि कोरोना संक्रमणको रापमा सेकिएका छन् । त्यी देशहरुमा पनि चिया प्रशोधन गरेर पठाउने अवस्था छैन । यस्तो अवस्थामा उत्पादित चियाको व्यवस्थापन कसरी गर्नेभन्ने बारेमा राज्य गम्भीर बन्नैपर्छ ।

नगरको भुमिका    

चियामा देखिएको समस्या समाधान गर्न सूर्योदय नगरपालिकाले प्रयास गरेको देखिन्छ । नगरभित्रका कृषक, उद्यमी लगायतका सरोकारवाला पक्षहरुसँग छलफल र वहस गरेको देखिन्छ । तर, त्यो प्रयास पर्याप्त भने छैन । सूर्योदय टी प्रड्यूस एसोसीएसनले विश्व स्वास्थ्य संगठनको महामारी रोकथामका लागि जारी गरेको निर्देशन र नगरपालिकाको निर्देशनमा उल्लेखित मापदण्डहरुको पूर्ण पालना गरेर उद्योग सञ्चालन गर्न नसकिने जनाए पनि एक किसिमको सहमति पछि चिया उद्योगहरु खुल्ने भएका छन् । यता पहिलो पटक पलाएको मुना टिप्न नपाए त्यसले वर्षभरि पलाउने चियाको गुणस्तरमा प्रभाव पर्न जान्छ । विडम्वना कलिलो मुना बोटमै वयस्क हुने अवस्था आइसक्दा मात्र नगरपालिकाले चासो देखाउनु सान्दर्भिक देखिन्न । चियामा आइपर्ने भइपरी समस्या सम्बोधन गर्न नगरले दिर्घकालिन योजना बनाउनै पर्छ ।

यतिबेला कोरोना रोगले ल्याएको संकट साझा संकट हो । यसको सामना सबै तह कृषक उद्यमी सरोकार निकाय आदी बिचको समन्वय, छलफलबाट मात्र संभव छ । विश्व स्वास्थ्य संगठनले सचेत गराएर कोरोना विरुद्ध लड्न भनिरहेका बेला चिया किसान र उद्योगीहरु यसको मापदण्डमा रहेर कसरी चिया टिपाइ, उत्पादन र प्रशोधन गर्छन रु सोचनीय विषय छ । सामाजिक दूरी कायम गर्नुपर्ने, मास्क, पन्जा, सेनेटाइजर जस्ता अति उपयोगी सामाग्रीहरु प्रयोग गर्न सम्भव छ कि छैन, यस बारेमा बहस हुनु जरुरी छ । नगरपालिकाले अग्रसर भएर यो समस्या समाधान गर्न आवश्यक छ । जसका लागि सर्वप्रथम उद्योग खुल्ने र चिया प्रशोधन गर्ने वातावरण बनाउनु मात्र होइन तत्काल यसको निर्यातमा कसरी नगरले भूमिका निर्वाह गर्न सक्दछ रु यो प्रश्न एकदमै गम्भीर छ ।

प्रशोधित कच्चा चियाको बजार बन्द छ । यो विसम परिस्थितीमा उद्योगीहरुले किसानलाई कच्चा पदार्थको उचित मूल्य, कामदारलाई ज्याला, प्रशोधन खर्च इत्यादी व्यहोर्न मुस्किल पर्दछ । नगरपालिकाले सहजिकरणको भुमिका निर्वाह गर्दै उद्योगको स्तर हेरेर ऋण तथा अनुदान उपलव्ध गराइनुपर्छ । जसमा नगरले राहत प्याकेज ल्याउन जरुरी छ । अर्थ मन्त्रालयले पनि उद्योग सञ्चालकहरुलाई केही राहात दिने निर्णय गरिसकेको छ । संक्रमणको असरबाट प्रभावित भएकाले चैत्र महिनामा भुक्तानी गर्नुपर्ने सावाँ व्याज असारसम्म तिरेहुने र तोकिएको समयमै तिरे १० प्रतिशत छुट दिने नेपाल सरकारले घोषणा गरेको छ । मुख्य समस्या भनेको चियाको अन्तर्राष्ट्रिय बजार कहिले खुल्ने भन्ने टुङ्गो छैन । त्यसकारण उद्योगीहरुका लागि यो समायवधी कम्तिमा पनि पाँच महिनाको राख्न जरुरी देखिन्छ । उद्योगको अवस्था र क्षमता हेरेर साना उद्योगको व्याज मिनाहादेखि ठूला उद्योगहरुलाई निश्चित प्रतिशत व्याजमा छुट दिनुपर्दछ । अर्को सुविधा चाहिँ विद्युत महसुलमा हुन सक्छ ।

नगर भित्र रहेका ६१ वटा उद्योगहरुलाई कसरी सहुलियत दिने भन्ने प्रश्न नगरपालिकाको क्षमतामा गएर जोडिन्छ । नगरले बजेट रकामान्तर सिद्धान्त अवलम्वन गर्न सक्छ । त्यसै पनि बजेट फ्रिज हुने समस्या नेपालमा नयाँ होइन । पूँजीगत तथा चालु बजेटको हिस्सा उद्योगको सवलिकरणमा नगरले खर्च गर्न सक्छ र गर्न आवश्यक छ । यस्तै मजदुरको स्वास्थ्यको चुनौती कम गर्न न्यूनतम परिक्षण सामाग्रीहरु जस्तै इन्फारेड थर्मोमिटर लगायतका सामाग्रीहरुको व्यवस्था उद्योगहरुमा गर्न आवश्यक छ । मास्क, सेनेटाइजर लगायतका अतिआवश्यक सामाग्रीहरुको जोहो उद्योग र नगरपालिकाले संयुक्त रुपमा गर्न सक्दछन् ।

यस्तै कृषकहरुमा सतर्कता अपनाउनका लागि नगर कार्यालयले मास्क, स्यानिटाइजर, पन्जाको व्यवस्थापन गर्नुपर्दछ । नियमित साबुन पानीले हात धुने व्यवस्था चिया कृषकहरुलाई गराउनु पर्दछ । टिपाइका बखत सामाजिक दुरी कायम गर्न कम्तीमा तीन लाइन छोडेर टिप्ने ‘मेकानिजम’ अवलम्वन गर्न सकिन्छ । चिया सङ्कलन केन्द्रहरुमा चिया पुर्‍याउँदा सामाजिक तथा शारीरिक दुरी कायम गर्न सकिन्छ । प्रभावकारी भएको छ छैन भने नियमन गर्ने कार्य वडा कार्यालयमा भएका जनप्रतिनिधिहरु मार्फत गराउन सकिन्छ ।

‘पोस्ट कोरोना पीरीयड’मा अर्थतन्त्रको सवलीकरण मुख्य मुद्धा बनेर आउनेछ । कृषीप्रधान देशहरुमा अर्थतन्त्र सवलिकरणमा समय नलाग्ला तर, नेपाल जस्तो विकासोन्मुख राष्ट्रमा अर्थव्यवस्था कसरी तङग्रिएला भन्ने अहम प्रश्न हो । विश्व नै कोरोना पश्चात्को अर्थ व्यवस्थाको छलफल र तयारीमा जुटिरहेको बेला नेपाल भने कोरोना संक्रमणसँग कसरी जुध्ने भन्ने अन्योलतामै छ । कोरोना संक्रमण पनि दोस्रो चरणमा प्रवेश गरिसकेकाले कसरी यो सँग जुध्ने भन्ने एउटा बहस छँदैछ । तर, संक्रमणपश्चात् भोकले थिलथिलो बन्नु भन्दा पहिले नै प्रचुर साधन स्रोत भएको सूर्योदय नगरले अर्थतन्त्रको मेरुदण्ड चियाको समस्या सुल्झाउन प्रयास थाल्ने बेला आइसकेको छ । (सूर्योदय नगर–४ निवासी राई विद्यार्थी नेता हुन्)