१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


पदलाेलुप रायमाझीले एमालेको पक्षमा मत माग्ने आधार छैन : नेतृ क्षेत्री


5.317k
Shares

अर्घाखाँची । नेपाली कांग्रेसकी नेतृ निर्मला क्षेत्रीले टोपबहादुर रायमाझीले एमालेको पक्षमा मत माग्ने आधार नै नभएको बताउनुभएको छ ।

अर्घाखाँचीको मालारानी ५ बाँगीमा आयोजना भएको संयुक्त गठबन्धनको सभालाई सम्बोधन गर्दै क्षेत्रीले १० वर्षीय जनयुद्ध लडेका नेकपा (माओवादी केन्द्र)का कार्यकर्तामाथि घात गरेर रायमाझीले एमालेको पक्षमा मत माग्ने आधार नदेखेको टिप्पणी गर्नुभयो ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेशका संसदीय दलकी सचेतकसमेत रहनुभएका क्षेत्रीले रायमाझी एमालेमा जाँदैमा गठबन्धन र निर्वाचनको नतिजामा खासै फरक नआउने बताउनुभयो । उहाँले एमालेका सचिवसमेत रहेका रायमाझीलाई पदलोलुपको संज्ञासमेत दिनुभयो ।

नेतृ क्षेत्रीले गठबन्धनले जिल्लाका ६ वटै पालिकामा जित हाासिल गर्ने दाबी गर्नुभयो । सन्धिखर्क नगरपालिकाको मेयरमा नेपाली कांग्रेसको तर्फबाट पहिलोपटक महिलाले टिकट पाएको भन्दै उहाँले यसबाट अन्य पार्टीले पनि सिक्नुपर्ने बताउनुभयो ।

२०७४ को स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)ले मालारानी गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र पाणिनी गाउँपालिकाको उपाध्यक्ष जितेको थियो ।

कांग्रेसले सन्धिखर्क र शितगंगा नगरपालिकाको प्रमुखमा जित्दा पाणिनी, छत्रदेव गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा बाजी मारेको थियो । भूमिकास्थानमा प्रमुख, सन्धिखर्क उपप्रमुख, शितगंगा उपप्रमुख माओवादीले जितेको थियो ।