१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


मतगणनाका बेला आँखा नचिम्लन कार्यकर्तालाई ओलीको निर्देशन

गठबन्धनले जित्ने सम्भावना नभएको जिकिर

494
Shares

पोखरा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मतगणना सुरक्षाप्रति आशंका व्यक्त गर्नुभएको छ ।

पोखरामा सोमबार आयोजित एमालेको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले गठबबन्धनका दलले मतपत्र च्यात्न सक्ने भन्दै मतगणनाको बेला कार्यकर्तालाई आँखा नचिम्लन निर्देशन दिनुभयो ।

‘गठबन्धनले मतले जित्ने कुनै सम्भावना छैन, यसकारण तपाईंहरू मतगणनाको बेलामा आँखा झिमिक्क पनि नपार्नुस्,’ उहाँले भन्नुभयो, ‘भरतपुरमा पहिले त्यसै गरेका हुन्, त्यसैले गणना नसकिएसम्म तपाईंहरू सुत्न हुन्न ।’

ओलीले प्रहरी प्रशासनको सहयोग एमालेलाई आवश्यक नभएको र विश्वास समेत नभएकोले मतपत्रको सुरक्षा जनताले नै गर्ने बताउनुभयो ।

‘पशुपतिमा फूलपाति लिएर पूजा गर्न जाँदा बाँदरले झ्याप्प पार्छ,’ उहाँले व्यङ्ग्य गर्दै भन्नुभयो, ‘यहाँ त पाँच वटा बाँदर छन्, तपाईंहरू सचेत भएर पूmलपाति जोगाउनोस् ।’

सम्बोधनका क्रममा अध्यक्ष ओलीले नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाललाई को खत्तम रहेछ भन्ने कुरा वैशाख ३० को चुनावपछि थाहा हुने बताउनुभयो ।

‘१५ वर्ष एमालेको रस चुसेर, एमालेको काँधमा बुइ चढेर २१ महिना प्रधनमन्त्री भएका एक जना मान्छे भन्दै थिए एमाले सिध्याउनैपर्छ,’ उहाँले थप्नुभयो, ‘हेरौंला बैशाख ३० गतेको परिणाम आएपछि को खत्तम हुनेछ, जनताले बताउँछ ।’

कांग्रेसलाई विचरा भन्दै ओलीले रुखमा भोट हाल्ने कार्यकर्ताप्रति दया जागेर आएको बताउनुभयो । चितवनमा १० वर्ष यस्तै भएको भन्दै उहाँले अहिले गठबन्धनको खैरियत नभएको बताउनुभयो ।

आफ्नो पार्टीको जीतपछि युवावर्गलाई शिक्षा, तालिम, रोजगारको अवसर दिने ओलीको आश्वासन छ । पोखरासँग भावनात्मक सम्बन्ध रहेको बताउँदै उहाँले ४० वर्षअघि पोखराको जेलमा ३ वर्ष बिताएको र यहाँको भूगोल र सम्भावनाको बारेमा आपूmलाई ज्ञान भएको स्पष्ट पार्नुभयो ।

सभामा एमाले उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुव्वा गुरुङ, मेयरका उम्मेदवार कृष्ण थापा, उपमेयर उम्मेदवार मञ्जुदेवी गुरुङले पनि सम्बोधन गर्दै पोखरालाई सुशासन र भ्रष्टाचारमुक्त सहरको रुपमा विकास गरी पृथक पर्यटकीय सहर बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।