
-दिपक बोहोरा
अहिले हाम्रो समाजमा सबैभन्दा सस्तो शब्द ‘समाजसेवी’ भएको छ । कुनै औपचारिक कार्यक्रममा सम्बोधन गर्ने कुनै पद भेटिएन भने ‘समाजसेवी’ भनेर बोलाउने चलन छ । अझ भन्ने हो भने संकटको बेलामा त समाजसेवीहरु धेरै भेटिन्छन् । गरिव र बिपन्नलाई सहयोग गर्ने नाममा । ति गरिवहरुलाई सहयोग गर्नु त राम्रो हो । तर मलाइ बिभिन्न अनलाइनहरुमा आउने समाचारको शिर्षक र सामाजिक संजालहरुमा देखिने पोष्टहरुले मन कटक्क दुख्छ । गरिबको पीडा र अभावको पीडा कस्तो हुन्छ मलाई राम्रोसंग थाहा छ । मेरो वाल्यकालको धेरै समय चियाका बुट्टाहरुमा बितेको छ । चियावारीका पाखाहरुमा बितेको छ । कारण मेरो बाबा–आमा पनि कुनैबेला चिया मदजुरको भएर काम गर्नुहुन्थ्यो । मजदुर र गरिबीको पीडाहरु नजिकबाट देखेर होला अहिले पनि यो प्रचारवाला राहतको समाचारले ती गरिवहरुको मजाक उडाएको जस्तो महसुस हुन्छ ।
यतिबेला देश संकटमा छ । यस्तोबेला जसले निस्वार्थ सहयोग गर्नु भएको छ उहाँहरुलाई मेरो सलाम । ती निस्वार्थ सहयोग गर्ने सहयोगी मनहरुलाई आघात पुर्याउने हेतुले यो लेख लेखेको होइन । उहाँहरुप्रति म कृतज्ञ छु । उहाँहरुप्रति मेरो सलाम छ । गरिवहरुको पनि मन हुन्छ । गरिबहरुको पनि आफ्नो इज्जत हुन्छ । कतै हाम्रो पोष्टहरुले उनीहरुको आत्मासम्मानमा आघात पो पुगेको छ कि रु यतातिर ध्यान दिएर फोटोहरु पोष्ट गर्दा राम्रो हुन्छ होला । गरिबका नाममा निस्वार्थ सेवा गरिन्छ । तर हाम्रा समाजसेवीहरु नामको पछि दौडेका छन् । सस्तो लोकप्रियता खोजेका छन् । आशन ग्रहणमा नाम, समाचारमा नाम ,मिडियामा नाम के यो लोकलाई देखाउनमात्र समाजसेवा हो र ? एक हजार खर्च गरेको भए एक लाखको प्रचार खोज्ने कसरी समाजसेवी हुन सक्छ ? निस्वार्थी मान्छे समाजप्रति बफादार मान्छे किन प्रचारको पछि लाग्छ बुझ्नै सकिन्न । बिहान कहिकतैबाट सहयोग उठाउने अनि दिउँसो आफ्नो नामबाट सहयोग गरेको भन्ने लोकलाई देखाउने बेलुका आफू निकट पत्रकारलाई फोन गरेर समाचार बनाउन लगाउने यो कस्तो समाजसेवा हो ?
जतिसुकै विज्ञान वा प्रविधिको विकास भएपनि मानिसमा मानवीयताको आवश्यकता छ । मानिस जुनसुकै बेला जस्तोसुकै अप्ठेरोमा पर्न सक्दछ । मानिसले गर्ने समाजसेवाको सहयोग भनेको आफ्ना लागि गरेको बचत हो । अरुलाई पर्दा सहयोग गरे मात्र आफूलाई पर्दा पनि राहत पाउन सकिन्छ । जति अरुलाई सेवा गर्यो त्यति नै पुण्य मिल्ने कुरा विद्वानहरुले पनि बताएका छन् । समाजसेवा पवित्र कार्य हो भने समाजसेवीको चरित्र तथा दरिद्र मानसिकताबाट समाज सेवामा कालो धब्बा लाग्दछ र समाजसेवा गर्ने संस्थाहरु गनाउने भएका छन् । आजकल छ्यापछ्याप्ती जहाँ गयो त्यहि समाजसेवी देख्न थालिएको छ । मैंले समाजसेवीको भावना नबुझेको हो कि । सबैलाई समाजसेवी भनिदियो भने खाँट्टी समाजसेवी त ओझेलमा पर्ने हो कि भन्ने आशंका लागेको छ ।
हिन्दु धर्मग्रन्थहरुमा उल्लेखित ‘परोपकार पुण्याय पापाय परपीडनम’ उक्तिले पनि समाजसेवाको सार बोकेको छ । मुसलमान सम्प्रदायले आफ्नो आयको हिस्सा गरिब गुरुवालाई बाँड्ने गरेका छन् । क्रिश्चियन सम्प्रदायमा पनि यस कुराको मान्यता छ । सत्य साई बाबाले पनि समाजसेवालाई महत्व दिएका छन् । धर्म मात्र नभएर सामाजिक अनि आध्यात्मिक हिसाबले सोच्ने हो भने पनि समाजसेवा ठूलो कुरा हो ।
तर यी सबै कुराहरु सिद्धान्तमा मात्र छन् । सिद्धान्त र व्यवहार फरक कुरा हुन् भनेर त्यस्लाई अनुसरण गरेको पाइँदैन । सिद्धान्त अनुसार चल्ने हो भने नाम अनुसार सबै काम हुन्छन् । समाजसेवी शब्द जस्तो छ नि त्यस्को पनि मान राख्नु पर्दछ । तर यहाँ के भएको छ भने मानिसको अन्तिम बिन्दु समाजसेवीको नाममा अडकिएको छ । समाजसेवी फलाना र ढिस्काना भन्दै कार्यक्रम संचालकले सम्मान गरेको देखका छौं । वास्तवमा के तिनीहरु सबै समाजसेवीको दायरामा पर्दछन् या समाजसेवीको बिल्ला राख्नको लागि साँच्चिकै हुन् त रु समाज सेवा भनेको परोपकार हो ।
समाजसेवीलाई सस्तो बनाउनु हुँदैन । केवल समुदायका सदस्यहरुले नै सम्मान गरी समाजसेवी भनी दिन्छन् र सरकारी तवरबाट पनि समाजसेवी भनेर सम्मान गर्ने परिपाटी छ । त्यो राम्रो पक्ष हो । कतै कतै स्वयम्ले समाजसेवी पनि लेखिएको देखिएको छ । समाजसेवी बन्नलाई ठुलो त्याग गर्नुपर्छ र तिलान्जली अर्पण गर्नुपर्छ समाजसेवी भनेर आफूलाई समाजमा उभ्याउनु भन्दा स्वयमसेवक भन्दा समाजले अझ सम्मान गर्नेछन् । विश्वास बढ्ने छ । जोकोही मानिस समाजसेवामा लागेका हुन्छन् । उनीहरुले त्यो सम्मान खोज्दैनन् । समाज सेवाको मर्म बुझ्न कोसिस गर्नुपर्छ । विशुद्ध समाजसेवीलाई सम्मान गर्न सिक्नुपर्छ समाजसेवी आफुले हैन अरुद्वारा पुकारिनु पर्छ र सम्बोधन हुनुपर्छ । केवल नाम र प्रतिष्ठा वृद्धि स्वरुप आफुलाई समाजसेवी भन्ने परिपाटीको अन्त गरिनु पर्छ । समाजमा केही योगदान नगरेका समाजसेवी, जनताको करबाट सरकार मार्फत तलब खाने पनि समाजसेवी, जसको काम नै सुरक्षा गर्नुछ उ पनि समाजसेवी, आखिर को हो त समाजसेवी ? तर आफ्नो गाँस कटाएर सच्चा मनले समाजसेवा गर्ने आम समाजसेवीहरुप्रति सम्मान प्रकट गर्नैपर्छ ।
प्रतिक्रिया दिनुहोस्