८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


बलात्कार मुद्दामा हदम्यादका कारण बलात्कारीले उन्मुक्ति नपाउन् : प्रदिप पौडेल


247
Shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नेता प्रदीप पौडेलले बलात्कार मुद्दामा उजुरीको हदम्याद तोकिने व्यवस्था हटाउन माग गर्नुभएको छ ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत नेता पौडेलले बलात्कारका पुराना घटनाको उजुरी नलिँदा पीडितले हरेश खाने तथा अपराधीले सहजै उन्मुक्ति पाउने अवस्था आउन नहुनेमा जोड दिनुभयाे । उहाँले ट्वीटमा बलात्कार जस्ता अपराधमा उजुरीका लागि समयसीमाको हदम्याद तोकिनु नहुनेमा जोड दिनुभएको छ ।

‘मुलुकी अपराध संहिता २०७४, बालबालिकासम्बन्धी ऐनमा बलात्कार कसुरबारे उजुरीको हदम्याद तोकेको छ,’ पौडेलले ट्विटरमा लेख्नुभएको छ, ‘पीडितहरू प्रताडनाबाट गुज्रने गरेको पाइएको छ, बलात्कारका पुराना घटनाको उजुरी नलिँदा पीडितले हरेश खाने तथा अपराधीले सहजै उन्मुक्ति पाउने भएकाले यस्ता अपराधमा समयसीमाको हदम्याद तोकिनुहुन्न ।’

बुधबार मात्र एक युवतीले ८ वर्ष अघि सुन्दरी प्रतियोगिताका आयोजक सदस्यबाट जघन्य बलात्कारमा परेको घटना सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा बलात्कारका मुद्दामा उजुरीको हदम्याद तोकिने व्यवस्थाकाे विरोध भइरहेको छ ।

ती किशोरीले आफू १६ वर्षकाे हुँदा ६ महिनासम्म सुन्दरी प्रतियाेगिताका आयाेजकले ब्ल्याकमेल गरेर बलात्कार गरेको घटना सामाजिक सञ्जाल टिकटक र इन्टाग्राममार्फत सार्वजनिक गरेकी थिइन् ।