
काठमाडौं । नेकपा (एमाले)का सांसद राजेन्द्रप्रसाद गौतमले अर्थमन्त्रीले प्रस्तुत गरेको विनियोजन विधेयकको सिद्धान्त स्पष्ट नभएको बताउनुभएको छ ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०७९/०८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलमा सांसद गौतमले प्रधानमन्त्री र अर्थमन्त्रीको बजेट सिद्धान्त र नीतिमै फरक परेको बताउनुभयो ।
‘विनियोजन विधेयकको सिद्धान्त स्पष्ट छैन, बाटो पनि स्पष्ट छैन, कुन बाटो हिड्ने हो ?’ उहाँले प्रश्न गर्नुभयो, ‘प्रधानमन्त्रीजीको बजेट सिद्धान्त, नीति, कार्यक्रम र अर्थमन्त्रीजीको बजेट सिद्धान्त, नीतिमा नै आधारभुत रूपमा मत भिन्नता, विपरीत सिद्धान्तको जगमा उभिएको छ ।’
अर्थतन्त्रमा तस्करीतन्त्र बढेको र पुँजी पलायन भइरहेको उहाँको दाबी छ ।
‘बजेटका प्राथमिकता र सिद्धान्तहरू सुस्पष्ट छैनन् भन्ने मेरो भनाइ छ,’ उहाँले थप्नुभयो, ‘अर्थतन्त्रमा तस्करीतन्त्र बढेको, पुँजी पलायन भएको र कालो पुँजीलाई कानूनी बनाउने काम भएको अवस्था छ ।’
उहाँले सरकारले आयात प्रतिस्थापन गर्न नसकेको बताउनुभयो । प्रधानमन्त्री र अर्थमन्त्रीकै संलग्नतामा सुपारी, मरिच, छोकडा लगायतका वस्तुहरुको आयात अनुमति दिइएको पनि उहाँले उल्लेख गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्