१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एन्फा अध्यक्षमा पुनः शेर्पाको दाबी


156
Shares

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आसन्न निर्वाचनका लागि कर्माछिरिङ शेर्पाले अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् ।

एन्फाको वर्तमान अध्यक्ष समेत रहेका शेर्पाले असार ६ गते हुने केन्द्रीय निर्वाचनका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने भएका हुन् । उनले पत्रकार सम्मेलन गर्दै उम्मेदवारीको घोषणा गरेका छन् ।

यस्तै शेर्पा प्यानलबाट वरिष्ठ उपाध्यक्षमा शिक्षित पराजुली, उपाध्यक्षमा कुमार केसी, उपेन्द्रमान सिंह र रत्नकुमार श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

सदस्यमा दिपक थापा, प्रविण यादव, रूपेश अधिकारी, लोकेन्द्र गुरूङ, रामराजा गुरूङ, टीका लामा, प्रदेश सिंह राठोर, भरत थापा, अनिल श्रेष्ठ,रमेश ब्यन्जनकार, मणीराज विष्ट र मनिष जोशीले उम्मेदवारी घोषणा गरेका छन् ।

उम्मेदवारी घोषणा गर्दै शेर्पाले चार वर्षमा कोभिडको प्रभावका बीच धेरै काम भएको दाबी गरे । उनले आफ्नो चार वर्षे कार्यकालमा फुटबललाई नीतिगत रूपमा अघि बढाउने काम गरेको बताए । संस्थापन पक्षले आफ्नो पक्षमा ५३ जना भन्दा बढी भोटर संख्या खुलेको दाबी गरेको छ ।

एन्फा निर्वाचनमा जिल्ला, क्लब र संघबाट ८७ जनाले मतदान गर्नेछन् । एन्फाको आसन्न निर्वाचनका लागि शुक्रबारदेखि उम्मेदवारी दर्ता प्रक्रिया सुरु भइसकेको छ । यस अघि अहिलेको वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङले पनि अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराइसकेका छन् ।