
काठमाडौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सरकारले देशमा देखिएका समस्या समाधान गर्ने गरी बजेट ल्याउनुपर्नेमा जोड दिनु भएको छ ।
सोमबार सामाजिक सञ्जाल फेसबुकमा उहाँले भन्नुभएको छ– ‘हामीले एकातिर पर्याप्त पुँजीगत खर्च गर्न सकिरहेका छैनौँ। अनि हाम्रो आयात खर्च भने आकाशिँदो छ ।’पौडेलले खासगरी देशमा बढ्दो व्यापारघाटालाई ध्यान दिँदै उत्पादनमूलक क्षेत्रमा खर्च बढाउने र आयात घटाउने गरी बजेट निर्माण गर्न सुझाव दिनु भएको छ ।
‘वर्षौँदेखि नेपालको निर्यात व्यापार निरन्तर कमजोर बनेकै कारण मुलुकको शोधनान्तर स्थिति प्रतिकूल बनेको छ’, पौडेलले भन्नुभएको छ । पौडेलले लेख्नु भएको छ – ‘१६ खर्बको बजेटमा जम्मा सात महिनाको व्यापार घाटानै सवा ११ खर्ब पुगेको थियो । अहिले नेपालको अर्थतन्त्र धराशायी बन्ने चिन्ता छ।’
उहाँका अनुसार नेपालले आयात प्रतिस्थापन, विलासिताका वस्तुहरूको आयातमा कडाइ, पेट्रोलियम पदार्थको कम उपयोग, आत्मनिर्भर कृषि र निर्यातमूलक वस्तुहरूको उत्पादनमा विशेष ध्यान दिनुपर्ने देखिन्छ ।पौडेलले यस्ता विषयलाई बजेटले सम्बोधन गर्नुपर्नेमा जोड दिँदै पुँजीगत खर्च बढाउनुपर्ने आवश्यकता पनि औँल्याउनु भएको छ ।
अहिलेको विषम् परिस्थितिलाई मध्यनजर गर्दै उहाँले साउन १ गतेबाट नै कार्यान्वयन गर्न सकिने खालका परियोजनामा जोड दिनुपर्ने उल्लेख गर्नु भएको छ ।
कांग्रेस नेता पौडेलले उत्पादनशील क्षेत्रमा तत्कालै पुँजीगत लगानी हुनुपर्ने, खर्च बढी गरेरनै भए पनि पूँजी बनाउने र उत्पादन हुने क्षेत्रमा खर्च गर्दै व्यापारघाटा कम गर्न अबको बजेट लक्षित हुनुपर्ने पनि बताउनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्