
सुनसरी । जिल्लाको धरान उपमहानगरपालिकाका सबै जनप्रतिनिधिले सपथ ग्रहण गरेका छन् ।
सुरुमा धरानका नवनिर्वाचित मेयर हर्कराज राईले मुख्य निर्वाचन अधिकृत तथा सुनसरीका १ नम्बर न्यायाधीश कैलाश सुवेदीबाट सपथ ग्रहण गरेका हुन् ।
राईले सुनसरी सदरमुकाम इनरुवामा सपथ ग्रहण गरेपछि धरान आएर अन्य जनप्रतिनिधिलाई सपथ ग्रहण गराउनुभएको थियो । सुरुमा उप–मेयर अइन्द्रविक्रम बेघालाइ मेयर सपथ ग्रहण गराउनुभएको थियो ।
दोस्रो चरणमा धरानका २० जना वडाध्यक्षलाई मेयर राईले सपथ ग्रहण गराउनुभयो । तेस्रो चरणमा धरानका ८० जना वडासदस्यहरूलाई सपथ ग्रहण गराइएको थियो ।
निर्वाचन अधिकृतको कार्यालयले सबै जनप्रतिनिधिहरूलाई प्रमाण पत्र वितरण गरेको थियो ।
सपथ ग्रहण कार्यक्रममा प्रदेश १ का सभामुख प्रदिप भण्डारीले निर्वाचित जनप्रतिनिधिहरूलाई बधाई दिँदै धरानको विकास र समृद्धिमा एकभएर लाग्न सुझाव दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्