१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


२२ हजार २ सय हेक्टर क्षेत्रमा सिंचाइ पुर्‍याइने, वैज्ञानिक विधिबाट जग्गाको मूल्य निर्धारण गरिने


221
Shares

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा २२ हजार २ सय हेक्टरमा सिंचाइ पुर्याउने भएको छ ।

मंगलबार संसदमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले ठूला नहरको निर्माण र साना नहरहरूको निर्माण तथा मर्मत गरेर थप २२ हजार २ सय हेक्टर क्षेत्रमा सिंचाइ सुविधा पुर्याउने बताउनुभयो ।

थप ९० किलोमिटर थप तटबन्ध निर्माण गर्दै विपद् व्यवस्थापन गरिने उहाँले बताउनुभयो । हिमताल विस्फोटको जोखिम अध्ययन गर्न हिमतालमा रहेको पानीको सतह घटाइने र तल्लो तटीय क्षेत्रमा पूर्वसूचना प्रणालीको व्यवस्था गरिने राष्ट्रपति भण्डारीले बताउनुभयो ।

आगामी दुई वर्षभित्र भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसाइको व्यवस्थापन गरिनेछ । सुकम्बासीका लागि रोजगारी, विकास र क्षमता विकासको कार्यक्रम अघि बढाइने सरकारले जनाएको छ । नदी किनारका विपन्नका लागि छुट्टै व्यवस्था गरिने राष्ट्रपति भण्डारीले बताउनुभयो ।

भूमि बर्गीकरण गरी संघ, प्रदेश र स्थानीय तहको भूउपयोग नीति ल्याइने सरकारले जनाएको छ । भूमिको खण्डीकरण रोकी वैज्ञानिक उपयोग गरिने राष्ट्रपति भण्डारीले बताउनुभयो । भूमिसम्बन्धी कार्यलाई पूर्ण रुपमा डिजिटल गर्ने उहाँको भनाइ छ ।

वैज्ञानिक विधिबाट जग्गाको मूल्य निर्धारण गरिने राष्ट्रपति भण्डारीले बताउनुभयो । सरकारको सम्पत्तिको अभिलेखीकरण, संरक्षण र उपभोग गरिने उहाँको भनाइ छ । सरकारी जग्गाको संरक्षण गर्ने उहाँको भनाइ छ ।