९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


कोरनाको संकटः नयाँ वर्षमा के संकल्प गर्ने ?


0
Shares

-लक्ष्मी नारायण मिश्र

जीवनका विभिन्न भोगाइ र उतारचडावको अनुभवका साथै सफलता लिएर २०७६ साललाई हामीले सगौंरभ बिदा दियौं । कोरनाको भयावह र त्रासदी वातावरणमा नै २०७७ साललाई एक आपसमा शुभकामना दिएर स्वागत गर्‍यौं । गरिरहेका छौं । हाल विश्वमा फैलिएको कोरना भाइरस (कोभिड–१९) ले विज्ञान माथि चुनौती दिँदै मानव अस्तित्वलाई निस्तेज पार्ने वातावरण छाइरहेको छ ।

ज्योतिष विज्ञान अनुसार समयलाई गणना गरेका आधारमा हामी बिक्रम् सम्बत् २०७६ साललाई  विदाइ गरेर मानव स्वास्थ्यको संक्रमणकालिन अवस्थमै नयाँ वर्ष २०७७ मा प्रवेश गर्दैछौं । हामीले प्रयोग गर्दै आएको नेपाली पात्रोका आधारमा मात्र नभएर विभिन्न मुलुक तथा विभिन्न धर्म–सम्प्रदायका आ–आफ्नै समयतालिका र संस्कार अनुसार नयाँ वर्ष मनाउने गरिएको पाइन्छ । हामी जीवन जिउने क्रममै खुसी, सुखी र समृद्धि प्राप्त गर्न प्रत्येक नयाँ बर्ष मात्र होइन, आ९आफ्नो जन्मदिन परेको दिन पनि जन्मदिन वा जन्मोत्सव मनाउने गर्दछौं ।

हामीले नयाँ वर्ष संगैं नयाँ उमंगका साथ नयाँ जोस, नयाँ संकल्प र नयाँ ऊर्जा लिएर अगाडि वढने संकल्प गर्दछौं । व्यक्तिगत रूपमा, सामाजिक रूपमा र समग्रतामा नै सुख, शान्ति, स्वास्थ्य र समृद्धिको चाहना र कामना गर्दछौं । हामी समानता, एकता, मित्रता र सद्भावरुपी व्यावहारिकतामा बाँचौं र बँचाऔं । हामीमा भातृत्वको भावनामा बाँच्ने प्रेरणा प्रदान गरी खुसी र सुखी जीवनलाई जीवन्त राख्ने संकल्पको सपना साकार पार्न सकोस प्रतेक नयाँ वर्षले ।

हाम्रा बर्षहरु फेरीनलाई महिना, महिना फेरीन दिन, दिन फेरीन घण्टा, घण्टा फेरीन मिनेट र मिनेट फेरीन सेकेण्ड, सेकेण्ड फेरीएको छ । जीवन परिवर्तनमा सेकेण्ड, सेकेण्डको महत्व छ । हाम्रा सोचाइ र भावनाहरु पलपल प्रति पल र सेकेण्ड, सेकेण्डमा फेरिए रहेका छन । हाम्रा योजनालाई यिनै भावनाले बहकाएर अन्यन्त्र लैजाने गरेको पाइन्छ । यसैले गर्दा हाम्रा व्यवहार, अभ्यास, काम र व्यवसायहरुमा सोचाइ तथा योजना अनुसार सफलता हुन सकिरहेको छैन ।

म यो र त्यो राम्रो काम गर्छु भनेर प्रतिवद्धता गरिन्छ । यो अहित हुने काम गर्दिन भनेर संकल्प गर्दछौं नै सबैले । तर दुईचार दिनमै त्यो संकल्प बिर्सन्छौं । किनकि हामीले होसपूर्ण जीवन जिउन बिर्सी सकेका छौं । आफुले आफैंलाई एक पटक सोचौं, मनन् गरौं, सम्झदा दुःख लाग्न सक्छ– बेहोसीको उपमा आफुले आफैंलाई दिन मन लाग्छ । तर थोरै मात्र सजगता अपनाउने हो भने अस्तव्यस्तता पूर्ण हाम्रो जीवनलाई प्रेममय जीवनमा बदल्न सकिन्छ । नयाँ वर्ष २०७७ को आगमनसंगै विश्वमहामारिको रुपमा कोरना भाइरसको संक्रमण वढ्दै छ । यसले मानव जगत त्रसित छ, त्राहीमाम भएर बाँची रहेको छ र  बचाउने प्रयास जारी रहेको अवस्था छ ।

कोरोना भइरस पहिलोपटक चीनको वुहान प्रान्तमा ३१ डिसेम्बर अर्थात १५ पुसमा देखिएको थियो । २३ जनवरी अर्थात ९ माघमा वुहान प्रान्त लकडाउन भएपछि विश्वको ध्यानाकृष्ट भयो । कोरोना चीनबाट दक्षिण कोरिया, जापान, इटाली हुँदै सिंगो युरोपियन मुलुक र अमेरिकामा व्यापक रुपमा फैलियो । कोरना(कोभिड–१९)अमेरिका, क्यानाडा, दक्षिण कोरिया, इंगलैंड, इटाली, इरान, फ्रान्स, स्पेन, जर्मनीमा भयावह वन्दै गयो । कोरना यसरी भयावह बनेर विकसित मुलुक अर्थात विश्वका शक्तिराष्ट्रहरुलाई आतङ्कित पार्ने मात्रहोइन, विज्ञान र नव प्रविधिलाई नै गिज्याइ रहेको छ ।

हालसम्म आइपुग्दा बेलायत लगायत विभिन्न देशमा कोरोना भाइरसका कारण दश जना नेपालीको ज्यान गइ सकेको छ । अवस्था कस्तो दुःखदायी छ भने बिरामीले अन्तिम सास लिँदै गरेको दृश्य पनि परिवारले भिडियो कलमार्फत हेर्नुपर्दछ । बिरामीका आफन्त स्वयम आइसोलेशनमा हुने भएकाले अरूले भेटेर दुःख बाँड्न समेत सक्दैनन । जीवनमा मृत्युसँग लड्ने पनि एक्लै हुन्छ र यस्तो अकल्पनीय सङ्कटमा परिवार पनि एक्लो हुन्छ । घरमा अन्य आफन्त र समुदायले कसरी सहयोग गर्ने भन्ने पत्ता लगाउन पनि सजिलो छैन । चाहेर पनि कोही आँसु पुछ्न जान सक्ने अवस्था छैन । यो पढ्दै गर्दा या सुन्दा सामान्य लाग्न सक्छ तर पीडितहरुको भोगाइ चरम पीडादायी भएको महसुस गर्न सकिन्छ ।

छिमेकी देश भारतमा र नेपालमा समेत विदेशवाट आउने व्याक्तिमा कोरना पोजेटीभ भएको पुष्ठी भयो । यसका साथै विश्वस्वास्थ्य संगठनले समेत नेपाललाई तुरुन्त सतर्क रहन सुझाव दियो । उक्त सुझावलाई समेत मध्यनजर गर्दै २०७६ चैत्र ११ गतेवाट नेपाल सरकारले पनि वैदेशिक नाकामा निगरानी बढाएर देशलाई लकडाउन गर्ने काम भयो । सबै नागरीकहरुलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरियो । सार्वजनिक क्षेत्र, खुल्ला बजारमा भीडभाड कम गराउन निशेधआज्ञा जारी गरेर सबैलाई सतर्कता अपनाउन अभ्यस्त बनाइयो । सरकारले लकडाउनको समय वढाएर १५ वैशाख २०७७ सम्म पुर्‍याएको छ । यही लकडाउनको समयमा नै नयाँ वर्ष २०७७ लाई सबैंले आ–आफ्नै घर परिवार सहित बसेर स्वागत गरीरहेका छौं ।

देशमा लकडाउन पनि भयो, क्वारेन्टाइन ठाँउ ठाँउमा बने । स्थानीय सरकार सकृय भयो । यसले कोरोनाको संक्रमणलाई रोक्न राम्रो सहयोग पुगेकोछ । हामी कोही पनि नआत्तिऔं । आत्तिएर त जीवनमा कुनै पनि समस्याको समाधान हुँदैन नै । तर नआत्तिने नाममा मात्तिएर सरकारी आग्रह तोडनु हुँदैन । घरमा नै बसिरहेका छौं र अझै पनि परिस्थिती सहज नहुन्जेल बसौं । सेनीटाइजरको प्रयोग नियमित गरौं । कामबाट फर्किएपछि हात न धोउन्जेल अनुहार नछुऔं । हामीले घरमैं बसेर, आफु मात्र जोगिने होइन कि, परिवार, समाज र राज्य मात्र नभइ विश्वजगतमा मानविय क्षति हुनबाट जोगाइ रहेका छौ । यसरी अनुशासनको पालना गर्ने हामी सवैलाई धन्यवाद ।

नयाँ वर्षको शुभकामना सँगसँगै सामाजिक संजालमा समेत विभिन्न सुझाव र शुभकामनाहरु आदान प्रदान भइ रहेका छन् । सचेतना र सजग हुन ढाडसका सन्देश प्रवाह गर्ने कार्यहरु भए । सिंगो बिश्व कोरोना भाईरससंग जुधिरहँदा तपाईं हामी सजग भएर निवास वा सुरक्षित स्थानमा बसेका छौ भन्ने मेरो बिश्वास हो । तर आज तपाइँलाई सम्झन मन लाग्यो । तपाइँको अवस्था कस्तो छ ? कहाँ हुनुहुन्छ ? के गर्दै हुनुहुन्छ ? तपाइँलाई केही समस्या छ कि ? सारै अप्ठ्यारो परेमा सन्देश सेयर गर्नुहोला । यहि संजाल मार्फत तपाईं हामी मिलेर समस्याको समाधानको उपाय खोज्ने प्रयास गरौंला । यसले गर्दा तपाइँ हामीमा भए रहेको मानसिक तनाबलाई कम गर्न सहयोग पुर्‍याउन सकुँ । म त अहिलेसम्म सुरक्षित छु । हजुरहरु पनि सकुसल हुनुहुन्छ होला । पछि अनुकुल भएपछि उपयुक्त समयमा फेरि भेटौंला भन्दै हाँसी, खुसी रहनु होला भनेर शुभकामना आदान प्रदान भएका छन । यसरी कोरनाले मानवीय सद्भाव साटासाट गर्ने अवसर जुटाएको छ ।

एक पटक सोचौं । हाम्रो पूर्वीय संस्कार, सभ्यता, मान्यता र संकल्प अनुसार हामी हिडिरहेका छौं या छैनौं ? सभ्यता अनुसार काम गरि रहेका छौं या छैनौं ? हाम्रो सोच नकरात्मकताबाट सकरात्मकता तिर फेरियो कि फेरिएन ? हामीले चाहेको सुख के हो ? हामीमा शान्ति कसरी प्राप्त हुन्छ ? हाम्रो समृद्धिमा थप विकास भएको छ या छैन ? भौतिक विकास केका लागि र कति दिगो भएको छ ? हाम्रो आत्मविकास भएको छ कि छैन ? हाम्रा सकारात्मक उपलब्धीहरु अहिलेसम्म के के भए त ? यो लकडाउनको वेला होम क्वारेन्टाइनमा वसेर एक पटक सवैले मःमः गरेर सोचौं र सोचेर निष्कर्स निकाल्ने बेला आएको छ ।

साँच्चै एकपटक छातीमा हात राखेर सोचौं, विगत वर्षको अन्तरालमा हाम्रो जीवनमा के परिवर्तन आयो ? अझ हामीले के के योगदान गर्‍यौं ? यसले गर्दा के परिवर्तन गरियो राष्ट्रमा ? हामीले शुभकामना व्यक्त भाषणका शब्द जस्तै सोचाइमा रूपान्तरण भयो कि भएन ? यसले हाम्रा जीवनमा परिवर्तन आयो कि आएन ? यी सबै कुरालाई मूल्यांकन गरौं । कसलाई के के सहयोग गर्न सकियो ? समाजमा कति सेवा गरियो ? ति विगतका पाठबाट आगामी वर्षमा कमजोरी नदोर्‍याउने संकल्प गरौं । सेवा र सहयोग गरेर मानव मन जित्ने वेला आएको छ अहिले 

“ज्ञान मर्दछ हाँसेर रोइ विज्ञान मर्दछ ।” भन्ने युक्ति कोरनाको विश्व कहरसंगै विज्ञानसंग प्राणको भिख मागिरहेको वैज्ञानीक मानवलाई सुनाउन मन छ । हामीले पनि एक पटक राम्ररी सोचौं, मनन गरौं र मानविय जीवन जीउने प्रण गरौं । कोरनाको महामारीले मानवीय मूल्य मान्यता र ममताको पाठ सिक्ने र सिकाउने राम्रो अवसर बनेको छ यस पटकको यो नयाँ वर्षमा । विगतलाई हेर्दा वर्ष फेरिए पनि हाम्रो स्वभाव फेरिएन । हाम्रो सोच फेरिएन त्यसैले विकासको अनुभूति पनि गर्न सकिएन  । अब हामीमा नयाँ सोच आउनु पर्दछ ।  नयाँ ज्ञानको खाँचो छ । सबैमा नयाँ ऊर्जा भर्नु छ । नयाँ संकल्पसँगै नयाँ योजनाबाटै लकडाउन पछि नयाँ कामको थालनी गर्नु आवश्यक छ । यसले हाम्रो नयाँ जीवनशैलीको विकास गर्ने प्रेरणा जाग्न र जगाउन सक्यो भने मात्र नयाँ वर्षको उमंगले सबैमा हौसला थप्न सक्छ । यसले जीवनलाई सुन्दर तरिकाले जिउन प्रेरणा पनि प्रदान गर्छ ।

हामी सबैलाई थाहा छ– हाम्रो कर्मको फल, हाम्रो विचारको फल हो । हामी जे विचारले काम गर्दछौं त्यही नै फल प्राप्त भएको छ । विचार कस्तो गरियो, फल त्यस्तै भएको छ । हामीले अहिलेसम्म सबैको हितका लागि गर्‍यौं या आफ्नो स्वार्थ पूर्तीका लागि मात्र गरियो रु कसैलाई होस आएको छैन, बेहोसमा काम गरेको हेक्का छैन हामीमा ।

वर्ष फेरीएसँगै शुभकामना आदानप्रदान गर्दै आएका भए पनि मानिसमा तनाव र अस्थिरता कम भएको छैन । विसंगति र अराजकता कम भएको पाइँदैन । आखिर किन यस्तो भइरहेको छ त रु किनकी, जीवनका सबै अनुभव, घटना र विकासले केही न केही शिक्षा दिएकै छन । तर हाम्रा कर्मले, जुन सफलता पाइन्छ, हामी पूर्णरूपले खुलेर जिउन सक्छौं । मानसिक रूपले मुक्त हुन सक्छौं र एउटा सहज, सरल जीवन विताउन सक्छौं । त्यो हो खुसीयाली जीवन हो । जीउने कोशिस गरौं र सद्भाव साटासाट गरौं । अरुलाई समेत सहयोग गरौं । आखिर मानिसले जित्ने केही रहेनछ । सवै अभिमान त्यागेर प्राण रक्षाको निम्ति निरिह भएर वाँची रहेछन । त्यसैले असल र सफल जीवन जिउन सिक्ने वास्तविक मनकारी मनुस्य हुन सक्नु पर्दछ अब यो नयाँ वर्षमा ।

अब यिनलाई बोध गरेर शिक्षा ग्रहण गर्न सकिएन भने समृद्ध हुन सक्दैनौं । हाम्रो जुन प्रेमपूर्ण जीवन छ त्यो तनावग्रस्त हुँदै जानेछ । थोरै मात्र सजगता अपनाउने हो भने अस्तव्यस्त जीवनलाई प्रेमपूर्ण जीवनमा बदल्न सकिन्छ । अस्तव्यस्त बन्न धेरै परिश्रम र विचारको खेलले भूमिका खेल्छ । श्रम कठिन छ तर प्रेमपूर्ण बन्ने उपाय सरल छ । कठिन र तनावपूर्ण कर्ममा हात नहाल्ने हो भने जीवनमा आनन्द नै आनन्द छ । सेवामा प्रेम नै प्रेम अनुभूति हुन्छ । साद्विक कर्म, साद्विक भोजन, स्वास्थ्यप्रति सजग, सत्य र यथार्थ वाणी, सेवामा संकल्पित शिलवान आचरणले, चेतनाको स्तर वृद्धि गराउँछ । यसले आत्माको दियो जलाई दिनेछ । जसले जीवन प्रेमपूर्ण बन्दछ र नयाँ जीवनशैलीको आरम्भ भइ खुसी र सुखी भएको अनुभव लिन सकिने प्रेरणा यो नयाँ वर्षबाट नै प्राप्त हुने छ ।

शारीरिक रूपमा स्वस्थ र आफुसँग भएकोमा मस्त रहने कोसिस गरौं । मनस्थितिलाई सही मार्गमा लगाई परिस्थिति अनुकूल बनाऔं । चाहिने कुरा मात्र ख्याल गरौं र आफैंले त्यसलाई व्यवहारमा लागू गर्‍यौं भने जीवन धन्य मात्र होइन उत्कृष्ट तरिकाले बित्ने रहेछ । जस्तैः हामीसँग बुद्धि मात्र होइन प्रेम भरिएको हृदय पनि होस । बाहिरको विज्ञानको ज्ञानसंगै भित्रको अध्यात्मको पनि मिठास बनोस । हृदयमा बाहिर प्रेम र भित्र शान्ति कायम रहोस । ममता र प्रेम विभिन्न आयाममा फलित बनाउन सकियोस ।

समृद्धि त हाम्रो आचरणवाट प्रष्टिदो रहेछ र जीवनशैलीले यसलाई उदाङ्ग पार्दो रहेछ । वास्तवमै समृद्धि प्राप्त गर्न त लोभलालच माथी विजय प्राप्त गर्ने सक्ने नेतृत्व हुनुपर्ने रहेछ । दया र करुणाको खेती गरी प्रेमको फल टिप्न सक्ने नेतृत्व जन्मिनु पर्ने रहेछ । जागृतिपूर्ण जीवन जिउने अभ्यास गराउने र नीतिले शासन चलाउने शासक चाहिने रहेछ । जीवन जिउन ममता र भातृत्व वढाउने नेतृत्वले राष्ट्र हाँक्नु पर्ने रहेछ । वर्तमान विश्वमा भौतिक विकास चरम वन्दै गयो । भौतिक सम्पन्नता र विज्ञानले सबै चिजको विकास गरेको बेला कोरनाको महामारी भएकोछ । यसले एउटा नयाँ पाठ सिकाएको छ ।

अरूलाई ठग्ने काममा लागेका व्यक्तिहरु, मदिरापानमा मत्त मानवहरु, धूमपान गर्ने व्यक्तिहरु, अर्थविहीन ठगी खान राजनीति गर्ने महासयहरु, व्यापारमा बिचौलियाको काम गर्ने पात्रहरु, भ्रष्टाचारलाई प्राथमिकता दिने महामहीमहरु, आफू परिश्रम नगरी अरूको परिश्रमलाई ठगेर खाने व्यक्तिहरु, अनैतिक र समाजविरुद्ध काम गर्ने व्यविचारीहरु यी र यस्ता अविवेकिहरु समाजमा सधैं विश्वासको घेराभन्दा बाहिरै हुन्छन । मानवको मन र मस्तिष्कबाटै घृणित रहन्छन् पनि ।

यही कारणले गर्दा अहिले मानिसमा बफादारी हराउनुका साथै इमानदारी र विश्वासको खडेरी पर्न थालेको छ । विश्वास हृदय भित्रबाट प्रस्फुटन हुने गुण हो । ममता मनै भित्रवाट पग्लने रसायन हो । जुन मानिसले नजन्मिदै लिएर आएको छ र थियो पनि । तर मानिसले पाउने बाहिरी बातावरण र सम्पन्नताको मृगतृष्णाले विर्सिएको मात्र हो । बाहिर हेर्दा इमानदार र निष्ठावान देखिने व्यक्ति पनि भित्रभित्रै खोक्रो भएको छ । उसको स्वभाव अभाव र लोभले भरिएको पाइन्छ । व्यवहार गर्दै जाँदा उसको असल नियत देखिन थाल्छ । जब वाहिरी वैभवबाट विमुख वन्नुपर्ने वेला आउँछ त्यतिवेला विर्सिएको भित्री गुण सम्झन थाल्नेछ मानिसले । अत्याचार, अराजकता, हिंसा, अपराध, चोरीजस्ता कर्ममा लाग्ने व्यक्तिलाई कसैले मन पराउँदैन र त्यस्ता व्यक्ति कहिल्यै विश्वासका पात्र बन्न सक्दैनन् । यि र यस्ता अवगुणहरुमा लिप्त मानिसको वुद्धि पलाउने वेला आएको छ । सन्सारमा अन्याय अत्यचार गरेमा स्वयम आत्मालाई जलाउने र गलाउने रहेछ भन्ने सोच दिएकोछ कोरनाको महामारीले अभिमानीलाई ।

यतिखेर विगतका कमजोरी र गल्तीबाट पाठ सिकेर त्यो गल्ती नदोहोरिने संकल्प गर्नुपर्नेछ हामीले । त्यसैले अब सबैमा सेवा गरौं सद्भाव साटासाट गरौं । मानवमा एकता, मित्रता र भातृत्वको विकास गरौं । यसले भयलाई उत्साहमा, चिन्तालाई विस्मयमा, शोकलाई शक्तिमा, क्रोधलाई करुणामा र कामनालाई तृप्तिमा रूपान्तरण गरौं । जसले आत्मसम्मान र स्वाभिमानमा जीउन सक्छ । यो क्षणमा नै समृद्धिको अनुभूतिको क्षण हुनेछ । खुसी, सुखी र समृद्ध जीवन बाँच्न सकौं, बचाउन सकौं । विपत्तिलाई सिकाइमा, संकटलाई अवसरमा र महामारीलाई श्रृजनामा लगाउने सबैमा सद्भवुद्धि प्राप्त होस नयाँ वर्षमा । नयाँवर्षको सवैमा शुभकामना । (लेखक सामाजिक अभियन्ता हुन)