१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपाली भूमिको रक्षा गर्न सरकार प्रतिवद्ध छ : प्रधानमन्त्री देउवा


325
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली भूमिको रक्षा गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।

प्रधानमन्त्री देउवाले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो भन्ने कुरामा सरकार प्रष्ट रहेको उल्लेख गर्दै भूमि सम्बन्धी विषयमा कुनै समस्या भए कूटनीतिक पहलबाट समाधान गर्ने मान्यतामा सरकार रहेको पनि स्पष्ट पार्नुभयो ।

सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री देउवालाई सो भूमिबारे प्रष्ट धारणा राख्न आग्रह गर्नुभएको थियो । त्यसको जवाफ प्रधानमन्त्री देउवाले दिनुभएको हो ।

प्रधानमन्त्री देउवाले सरकारले छिमेकसँगको सम्बन्ध अझै उचो बनाउँदै लैजाने कुरा नीति तथा कार्यक्रममा उल्लेख गरिएको पनि बताउनुभयो ।

‘नेपाल सरकार नेपाली भूमिका रक्षा गर्न प्रतिवद्ध छ, लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपाली भूमि हो भन्ने कुरामा नेपाल सरकार प्रष्ट छ,’ उहाँले भन्नुभयो, ‘भूमि सम्बन्धी विषय विशेष संवेदनशील विषय भएकाले वार्ता र कूटनीतिक पहलबाट समस्या समाधान गर्नुपर्छ मान्यतामा रहि आएको छ र कूटनीतिक प्रयास जारी छ ।’

नेपाल भारत सम्बन्ध बहुआयामिक भएको र सहयोगका क्षेत्रहरू व्यापक भएको भन्दै उहाँले ऊर्जा क्षेत्रको प्रवर्द्धन गर्ने विषयमा दूई मुलुकबीच सम्झौता भएको बताउनुभयो । नेपालको भूवनावटका कारण ऊर्जाको बजार भारत सहज हुने उहाँको भनाइ छ ।