१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


काठमाडौं–तराई/मधेश द्रुतमार्ग आयोजनाले आगामी वर्ष ३० अर्ब रुपैयाँ पाउने


3.9k
Shares

काठमाडौं । राष्ट्रिय गौरवको काठमाडौं–तराई÷मधेश द्रुतमार्ग आयोजनाले आगामी वर्षका लागि ३० अर्ब रुपैयाँ पाउने भएको छ ।

नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको यो आयोजनाले आगामी वर्षका लागि ४८ अर्ब रुपैयाँ मागेको थियो । ३० अर्ब रुपैयाँको स्रोत सुनिश्चितता दिइने अर्थ मन्त्रालय स्रोतको दाबी छ ।

आगामी वर्ष सबै ठेक्का सकेर काम थाल्ने योजनामा सेना छ । नेपाली सेनाका प्रवक्ता तथा सहायकरथी नारायण सिलवालका अनुसार ७२.५ किलोमिटरको यो आयोजना ११ वटा प्याकेजमा निर्माण अघि बढाइएको छ ।

प्याकेज १ र २ को ठेक्का लागेर काम सुरु भएको छ । पहिलो प्याकेजको ठेक्का चिनियाँ कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले पाएको छ । जसमा महादेवडाँडामा निर्माण हुने ३.३०० किलोमिटर सुरुङमार्गसहित मोटरेबल पुल र सडकको सेक्सन निर्माण गर्नुपर्नेछ ।

सुरुङमार्ग खन्ने काम सुरु भइसकेको सिलवालले बताउनुभयो । दोस्रो प्याकेजको चिनियाँ कम्पनी पोली च्याङदा इन्जिनियरिङ कर्पोरेसनले पाएको छ ।

यो प्याकेज अन्तर्गत मकवानपुरको धेद्रेस्थित सिम्पानीदेखि चालिसे खोल्सीसम्म १.३७ किलोमिटर र लेनडाँडास्थित घट्टेपाखादेखि बाँदरे खोल्सीसम्म १.४ किलोमिटर गरी दुई सुरुङमार्ग र पुल निर्माण गर्नुपर्नेछ ।

प्याकेज ३, ४ र ५ को टेण्डर भएर काम सुरु हुन लागेको छ । प्याकेज ६ र ७ को टेण्डरका लागि गृहकार्य भइरहेको सेनाले जनाएको छ । प्याकेज ८, ९ र १० को बिडिङ डकुमेन्ट तयार पार्न लागिएको छ । २०८१ पुसमा निर्माण सम्पन्न गर्ने योजना रहेको छ ।