
एजेन्सी । पञ्जावी गायक सिद्धू मुसेवालाको गोली हानी हत्या गरिएको छ ।
उनको गत आईतबार साँझ भारतको पञ्जावको मनसा जिल्लास्थित जवाहरेक गाउँमा गोली हानेर हत्या गरिएको हो ।भारतीय संचारमाध्यमहरुले मुसेवालाको हत्या सन् २०२२ को डरलाग्दो घटना रहेको बताएका छन् । मुसेवालाको वास्तविक नाम शुभदीप सिंह सिद्धू भए पनि उनी सिद्धू मुसेवाला नामले चिनिन्थे । उनको शरीरमा ३० राउण्ड गोली प्रहार भएको भारतीय संचारमाध्यमले जनाएका छन् । गोली प्रहारपछि उनलाई उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमा निधन भएको थियो । उनको आज पंजावस्थित आफ्नै गाउँ मूसामा अन्तिम संस्कार गरिदैछ । उनको अन्तिम संस्कारमा सहभागी हुन उनका प्रशंसकहरु ठूलो संख्यामा उपस्थित भएका भारतीय संचार माध्यमले बताएका छन् ।
उनको हत्यालाई लिएर सामाजिक संजालहरुमा आक्रोश व्यक्त गरिएको छ । उनी पञ्जाबी गायन क्षेत्रका चर्चित गायक हुन् । हत्याको जिम्मा लरेन्स बिस्नोइ ग्याङको कन्नडमा रहेको ग्याङस्टर लक्की अर्थात् गोल्डी बराडले लिएका छन् । भारतीय प्रहरीले घटनाको छानबिन गरिरहेको जनाएको छ ।
यस अघि पञ्जावी गायक अमरसिंह चमकीलाको पनि यसैगरी हत्या गरिएको थियो । ८ मार्च १९८८ मा अमरसिंह र उनकी पत्नीको स्टेज कार्यक्रममा जानेक्रममा गोली हानेर हत्या गरिएको थियो । पछिल्लो समय पञ्जावी गायनमा निकै चर्चा कमाएका मुसेवाला केही महीना अघि भारतीय कांग्रेस आइ पार्टी मार्फत राजनीतिमा प्रवेश गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्