१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आईजीपी नियुक्तिविरुद्धको रिटमा जेठ ३० गते सुनुवाइ हुने


247
Shares

काठमाडौं । सर्वोच्च अदालतमा प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्ध परेको मुद्दाको अर्को पेशी जेठ ३० गतेलाई तोकिएको छ ।

न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार चुडालको संयुक्त इजलासमा मंगलबार सुनुवाइ हुन नसकेपछि इजलासले यही जेठ ३० गतेको लागि अर्को पेशी तोकेको हो ।

अवकास भइसकेका ३ जना डीआइजी ईश्वरबाबु कार्की, धनश्याम अर्याल र प्रकाशजंग कार्कीको रिट पनि सँगै राखेर हेर्ने भन्दै इजलासले ७ दिनभित्र म्याद तामेल गरि थाम्ने थमाउने म्याद नपाउने गरि ३ दिनभित्र लिखित जवाफ पेश गर्न विपक्षीका नाममा आदेश गरेको छ ।

यसअघि नै सर्वोच्चले एआईजी विश्वराज पोखरेलले दायर गरेको रिटमाथि मंगलबारदेखि अन्तिम सुनुवाइ हुने आदेश गरेको थियो । तर, मंगलबार अवकाशप्राप्त डीआईजीहरूको रिट पनि एकसाथ सुनुवाई गर्नेगरि पेशी तोकिएको हो ।

तर अवकाशप्राप्त डीआईजीको मुद्दामा म्याद तामेली गर्न बाँकी रहेकोले सुनुवाइ हुन नसकेको हो । गत बैशाख २२ गते न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले कारण देखाऊ आदेश जारी गर्दै पूर्ण सुनुवाई गर्ने आदेश गरेको थियो ।

इजलासले अन्तिम सुनुवाइका लागि विपक्षी अर्थात सरकारसँग लिखित जवाफ माग गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो । एआईजी विश्वराज पोखरेलले सरकारले वरीयता मिचेर आफूभन्दा जुनियर धिरजप्रताप सिंहलाई आइजीपी नियुक्ति गरेको भन्दै त्यसविरुद्ध मुद्दा दायर गर्नुभएको थियो ।