
काठमाडौं । इटालीलाई हराउँदै अर्जेन्टिनाले यस वर्षको फाइनलिसिमा फुटबलको उपाधि जितेको छ ।
कोपा अमेरिका र युरोकप फुटबल च्याम्पियन टोलीहरुले प्रतिस्पर्धा गर्ने यो खेल बुधबार राति इंग्ल्याण्डको वेम्बली रंगशालामा भएको खेलमा इटालीलाई ३–० ले हराउँदै अर्जेन्टिनाले उपाधि जितेको हो ।
अर्जेन्टिनाको लागि लाउटरो मार्टिनेज, एन्जल डि मारिया र पावलो डिबालाले एक एक गोल गरे ।
खेलको २८ औं मिनेटमा मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा डी मारियाले गोल गर्दै अर्जेन्टिनालाई २–० को अग्रता दिलाए । त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा डिबालाले गोल गर्दै अर्जेन्टिनालाई ३–० को जित दिलाए ।
अर्जेन्टिनाले फाइनलिसिमा फुटबलको उपाधि जितेको यो दोस्रो पटक हो । यसअघि उसले सन् १९९३ मा डेनमार्कलाई हराउँदै तत्कालिन ‘आर्तेमियो–फ्रानची’ कप जितेको थियो ।
युरोप र दक्षिण अमेरिकी फुटबल महासंघबीच हालै भएको नयाँ समझौता अनुसार २९ वर्षपछि फाइनलिसिमा नाममा सोही ढाँचाको खेल खेलाईएको हो ।
प्रतिक्रिया दिनुहोस्