
एजेन्सी । दिल्ली उच्च अदालतको अनुमतिपछि बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजले ‘आइफा अवार्ड’मा सहभागी हुन युएई उडेकी छन् । आइफा अवार्डको लागि युएईतर्फ जाँदै गर्दा उनलाई बुधबार साँझ एयरपोर्टमा देखिएको थियो ।
ठगी मुद्दामा दोषी प्रमाणित भएका सुकेश चन्द्रशेखरसँग २ सय करोड भारतीय रुपैयाँको अवैध कारोबार गरेको आरोपमा ज्याकलिनविरुद्धको मुद्दा विचाराधिन छ । उनलाई भारत छाडेर बाहिर नजान अदालतले आदेश दिएको थियो ।
ज्याकलिनले १५ दिन विदेश यात्राका लागि भन्दै अदालतसँग मे ११ मा अनुमति मागेकी थिइन् । न्यायाधीश सुधिरकुमार जैनले उनलाई मे ३१ देखि जुन ६ सम्म आबुधाबी जान अनुमति दिएका हुन् । जसका लागि उनले एक करोड रुपैयाँ ‘फिक्स डिपोजिट’ राख्नुपर्ने आदेशमा भनिएको थियो ।
आबुधाबीको एस आइल्यान्डमा हुन लागेको आइफा अवार्ड २०२२ जुन २ देखि ४ सम्म हुनेछ । ज्याकलिनसँगै अन्य बलिउड कलाकारहरू पनि आइफा अवार्ड २०२२ का लागि युएई गएका छन् ।
प्रतिक्रिया दिनुहोस्