१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


जनतालाई हेपेर उम्मेदवार छान्दा काठमाडौंमा राजनीतिक दल पराजित भए : रामचन्द्र पौडेल


819
Shares

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनतालाई हेपेर निर्णय गर्दा कांग्रेस काठमाडौं महानगरपालिकाको मेयरमा पराजित हुनुपरेको दाबी गर्नुभएको छ ।

वरिष्ठ नेता पौडेलले नेपाली कांग्रेस र नेकपा एमालेले जनताले चाहेको विपरीत उम्मेदवार खडा गरी जनतालाई हेपेका कारण राजनीतिक दल महानगरको प्रमुख बन्न नसकेको बताउनुभएको हो ।

शनिवार सञ्चारमाध्यमसँग कुरा गर्दै उहाँले काठमाडौं महानगरपालिकाको मेयरका लागि कांग्रेस र एमाले दुवै पार्टीले अघि सारेका उम्मेदवार उपयुक्त नभएको बताउनुभयो ।

प्रमुखका उम्मेदवारहरूको कार्यक्षमताको समय सकिसकेकोले जनताले राजनीतिक दलहरूले गरेको निर्णयलाई लत्याएको बताउनुभयो ।

वरिष्ठ नेता पौडेलले आफूले कामनपा प्रमुखको उम्मेदवारका रूपमा महिलामा हरिप्रभा खड्गी र पुरुषमा तीर्थमान डंगोललाई अघि सारे पनि निर्णायकले नमान्दा राजनीतिक दल हार व्यहोर्न बाध्य भएको बताउनुभयो ।

नेपाली कांग्रेसको नेतृत्व पंक्तिले वंशवादको आधारमा उम्मेदवारी दिएको भन्दै उहाँले जनताले त्यसको सजाय नेताको टाउकोमा लौरो लगाइदिएको बताउनुभयो ।

वरिष्ठ नेता पौडेलले आगामी दिनमा पनि यस्तै गल्ती नेतृत्व पंक्तिले गरिरहने हो भने नेपालको राजनीति यस्तै हुन्छ भन्न नसकिने बताउनुभयो ।

यस्ता घटनाबाट पाठ सिकेर राजनीतिक दलहरूले जनताले रुचाउने उम्मेदवार उठाउनुपर्ने भन्दै उहाँले पुनः मूर्ख निर्णय गरेर राजनीतिक दलको अपमान गर्नुनहुने बताउनुभयो ।