२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


पाँच दिनभित्र सूचना संकलन गर्न सात सचिवालय सदस्यलाई एकीकृत समाजवादीको निर्देशन


377
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले पाँचदिनभित्र तल्ला तहबाट सूचना प्राप्त गर्न सात केन्द्रीय सदस्यलाई जिम्मा दिएको छ ।

शनिबार पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा बसेको पार्टीको २६औं सचिवालय बैठकले स्थानीय निर्वाचनको समीक्षाका लागि तल्ला तहबाट सूचना प्राप्त नभइसकेको निष्कर्ष निकालेर सात जना सचिवालयका सदस्यलाई पाँच दिनभित्र सूचना निकाल्न जिम्मेवारी तोकेको छ ।

बैठकपछि सञ्चारकर्मीसँग बोल्दै पार्टीका नेता गंगालाल तुलाधरले पार्टीले सात प्रदेशमा सात केन्द्रीय सदस्यलाई सूचना संकलनको जिम्मेवारी दिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘प्रदेश १ मा जयन्ती राई, मधेश प्रदेशमा रामचन्द्र झा, बागमतीमा गंगालाल तुलाधर, गण्डकीमा प्रमेश हमाल, लुम्बिनीमा विजय पौडेल, कर्णालीमा प्रकाश ज्वाला र सुदूरपश्चिम प्रदेशमा प्रकाश ज्वालाले सूचना संकलन गर्नका लागि जिम्मेवारी तोकिएको छ ।’

शनिबारको बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, गठबन्धनमा आफ्नो पार्टी र अन्य पार्टीको भूमिकाको समीक्षा, आगामी कार्ययोजनाको बारेमा छलफल भएको उहाँले बताउनुभयो । सचिवालयले गरेको समीक्षाको आधारमा प्रतिवेदन बन्ने र त्यसलाई तल्ला कमिटीहरुमा लैजाने उहाँको भनाइ छ ।

नेता तुलाधरले संगठनात्मक आधार हुँदा–हुँदै गठबन्धनमा सहभागी हुँदा पार्टीलाई भएको क्षति वा फाइदाको विषयमा गम्भीर समीक्षा गर्ने बताउनुभयो ।