
-लाओस राई
विश्वका बक्सिङ खेलाडीहरुको नाम लिने हो भने महमद अलि, लिओ फ्रेजर, लिन्नस लुइस, इभान्दरहोली फिल्ड र जेम बुस्टर डग्लस जस्ता शसक्त बक्सरहरुको नाम अग्र स्थानमा आउँछ । यी खेलाडीहरुको नाम लिइरहँदा अरु बक्सरहरुलाई बिर्सनु खोजेको भने होइन । यद्यपी उनीहरुलाई त्यो समयको बलियो र सफल बक्सरहरु मानिन्थे । उनीहरु उच्चकोटीका मुक्केबाज भएर होला आजसम्म पनि चर्चा र सम्मान उत्तिकै छ, जति पहिले थियो । मुख्य कुरा उनीहरुले मुक्का बर्साएको देख्दा खेलप्रेमीहरु ज्यादै उत्साही र आक्रामक भएको दृश्य भिडियोमा अहिले पनि देख्न पाइन्छ ।
अर्कोतर्फ सन् १९८० देखि २००५ सम्म चर्चित रहेको बक्सर खेलाडी हुन माई टाइसन । उनी होंचो कद भएर पनि जोसिलो, फुर्तिलो र आक्रमक हुनुको साथै रिसालु स्वाभावको र पारिवारिक हिसाबले टुहुरो पनि थिए । आक्रमक र झगडालु हुनाले उनको भविष्य निर्बिकल्प बक्सिङमा नै छ भन्ने गर्थे छिमेकीहरु । टाइसनलाई गुरु डोम्याटोले योग्य मुक्केवज बनाएका थिए । पहिलो पटक १९८६ मा ब्यवसायिक बक्सर त्रेबर बर्बिकलाई २० बर्षको उमेरमा हराउंदै विश्व बक्सिंग मैदानमा युवा ह्याब्बी वयट च्याम्पियनको उपाधि जित्दै उनी उदाएका थिए । उनको जीवनको ५८ म्याच भिडन्तमा ६ भिडन्त मात्र हारेका उनले एक भिडन्तमा प्रतिद्वन्दी ईभान्दर होलि फिल्डको कान टोक्ने काम बाहेकअरु सबै भिडन्त सहजै जितेको विश्व बक्सिङ् इतिहासमा उल्लेख छ ।
अचम्मको कुरा त यो छ कि शारीरिक रुपले मुक्का वर्षाउन नसक्ने तर अरुले बजाएको मुक्का मैंले नै बजाएको ठान्ने लुरे र पिलन्धरे खालका दर्शक एवम समर्थकहरुले लिएको मज्जा भिडियोमा देख्दा लाग्छ कि उनीहरु नै खेलिरहेका छन् । उनीहरुले नै पुरस्कार पाए झैं लाग्छ । विश्वका मानिसहरु यिनीहरुको मुक्का र भिडन्त हेर्न निकै भीड हुने र कहिले कहिँ त पक्ष बिक्षमा लाग्ने दर्शक तथा समर्थहरु नै एकअर्कामा मुक्का पनि ठोकाठोकको दृश्य अचम्मको देखिन्छ । तर हेर्दा धेरै आनन्द र मज्जा भए पनि बक्सिङ् खेल धेरै कठिन र जोखिमपूर्ण मानिन्छ । किनकी यो खेलको मुख्य निसाना नै टाउको हुनाले दिमागमा प्रत्यक्ष असर पर्न गइ मानसिक सन्तुलन गुम्मुका साथै आँखा नदेख्नेसम्म हुनसक्छ ।
अब बक्सिङ भिडन्तको प्रसंगसँग बिचार र सिद्दान्ताहरुको भिडन्तको बारेमा चर्चा गर्न आवश्यक छ । फरक बिचारहरु भन्दासाथ तिनीहरु बिच द्वन्द्धान्मक अवस्था छ भन्ने प्रष्ट देखिहालिन्छ । पक्ष र विपक्षमा विभाजित भएपछी ति बिचारहरु कुनैपनि समय भिडन्त हुन्छ भन्ने ठोकुवा गर्न सकिन्छ । मुख्य पुरानो र नयाँ विचार बिचको भिडन्तले नयाँ सिद्दान्तको निर्माण हुन्छ भन्ने मान्यता स्थापित भएदेखि त भिडन्त चर्चा ज्यादै बढेको ठानिन्छ । यसलाई यसरी भनौं परम्पराबादी मूल्य, मान्यता र सिद्दान्तको आधुनिक बिचार र सिद्दान्तसंग सँधै भिडन्त हुन्छ । यी दुईबीच निरन्तर भिडन्त भई नै रहेका पनि छन् ।
उदाहरणका लागि तात्कालिक यथेन्स राज्य र सुकरातको बैचारिक र सैद्धान्तिक विचारको भिडन्तलाई लिन सकिन्छ । त्यसबेला धार्मिक अन्धविश्वस, दन्तेकथा र विभिन्न मिथकहरुलाई आधार मान्दै शासन चलाउने परम्परा थियो । पुरानो मान्यता गलत हो । यथार्थ मानव स्वतन्त्र स्वभाव हो भन्ने नयाँ बिचारको प्रतिनिधित्व गर्ने सुकरातालाई बिष खुवाई भौतिक रुपमा समाप्त गरे । यो भिडन्तलाई मानव इतिहासको भयानक भिडन्त रुपमा लिनु पर्दछ स्वतन्त्रता पक्षधरहरुले । १७८९ मा जनताले क्रान्ति गरे यिनै क्रान्तिले फ्रान्समा निरंकुश राजतन्त्रको अन्त्य गरिदिए । जसलाई फ्रान्सेली राज्यक्रान्ति भनिन्छ । त्यो एक पुरानो युग र नयाँ युगको भिडन्त थियो । जसमा राजा नकाउट भए । त्यो घटनालाई केलाउँदा माइक टाइसनले त्रेबर बर्बिकलाई नकाउट गरेजस्तै थियो भन्न सकिन्छ । किनकी शासन व्यवस्था नै जनतको हातमा गयो जसरी टाईसनको हातमा विश्व ह्यावी वेट च्याम्पियनको उपाधि गएको थियो ।
जर्मनीमा जन्मेका विल्हेस फ्रिडरिक हेगलले आध्यात्मिक द्वन्द्ववाद, राजनैतिक युद्द, राज्यको सर्बोच्चताको महत्व र राज्य सम्बन्धी विचार जस्ता महत्वपूर्ण राजनैतिक खुराकहरु निर्माण गरे । तिनै राजनीतिक आदर्शबाट कार्ल मार्क्सले द्वन्द्धात्मक भौतिकबादी र हिटलरले फाँसीवादी, नजीबादीको नामले विश्व चर्चित भए । फाँसीबादी हिटलरले राज्यको बलमा लाखौं मानिसलाई जीवनदेखि नै नकाउट गरे भने आर्का द्वन्द्धात्मक भौतिकबादी विचार र सिद्दान्तले पनि १८४८ पछि धेरै पूजीपतिहरुको नकाउट गरे । जब भिडन्त अनिवार्य छ भन्ने सिद्दन्त र सर्बहारा वर्गको अधिनायाकत्वको सैद्धान्तिक अबधारणाको थालनी भयो । त्यस बेलादेखि मजदुर वर्गले दन्काएको क्रान्तिको आगोले बेलायतमा ११ वर्ष राजसस्था नकाउट परे भने जमिन्दार सामन्तीहरु उद्योगपतिमा रुपान्तरित भए ।
त्यो बिचमा मजदुरहरुले चलाएको आन्दोलनले धेरै उद्योगपतिहरुलाई नकाउट गरेभने अन्य मुलुकहरुले १५ औं शताब्दीदेखि विद्यमान उपनिबेशवादको बिरुद्धमा संघर्षको थालनी गरे । जसले गर्दा उपनिबेसबादीहरु नकाउट हुनपुगे । अर्कोतर्फ लामो समयसम्म चलेको पुनजार्गरण अभियानले सिंगो मध्ययुगीन युरोपलाई आधुनिक युरोप बनाए । उपनिबेसबाद बिरुद्धको आन्दोलनले साम्राज्यबादी मुलुक धेरै देशबाट नकाउट हुँदै गए । जस्तै भारत, मलेसिया, माल्दिस यसका पछिल्लो उदाहरण हुन् । एक प्रकारले भन्ने हो भने साम्रज्यबादीहरु राजनीतिक शैलीको पनि नकाउट हुँदै भए । देशहरु क्रमसः स्वतन्त्र, स्वाधिन र सार्वभौम बन्दै गएको तथ्य विश्व इतिहासमा उल्लेख गरेका पाउँछौं । फेरी इतिहांस हेर्ने हो भने १९ औं शताब्दीदेखि आजसम्म धेरै राजनैतिक ब्यबस्थाको नकाउटमा परेका छन् । त्यो सबैभन्दा बढी प्रहार भने राजतन्त्रामक मुलुकमा परेको पाउछौं । यसलाई अझै प्रष्ट भन्दा, कहिले सामन्तबादी राज्य ब्यबस्थालाई पुंजीबादी व्यवस्थाले नकाउट गरे त कहीं अग्रगामी र क्रान्तिकारी साम्यबादीहरुले सामन्तबादी राजतन्त्रलाई नकाउट पारे । ल्याटिन अमेरिकी मुलुक क्यूबा, बोलिभिया र एसियाली मुलुक लाओस भियतनामलाई लिन सकिन्छ । नेपाल भने त्यसको पछिल्ला उदाहरण मात्र हो । यस्ता थुप्रै राजनीतिक घटनाहरुको आधारमा भन्न सकिन्छ जुनसुकै ब्यबस्था नकाउट भएपनि सबैभन्दा बढी नकाउट हुनेचाहि जनता नै छन् । झन्डै सय वर्षको अवधिमा ठुला–ठुला युद्धहरु भयो । ति युद्धहरुमा लाखौंलाख मानिसहरु जीवन देखि नकाउट भए । राजनीतिमा नकाउट र इन (सत्ता प्रबेश)को संघर्ष हुनुलाई कुनै नौलो मान्नु पर्दैन । राजनीतिको बिशेषता नै यहि हो ।
सन् १९५० देखि आधुनिकीकरणको सिद्दान्तको व्यवहारमा प्रयोग सुरुभयो । यो सिद्दान्तसंगै अरु नयाँ सिद्धान्तहरु पनि निर्माण हुँदै गयो । १९६० देखि १९७० को दशकसम्म आइपुग्दा देशहरु प्रत्यक्ष वा परोक्ष रुपमा परनिर्भर अवस्थामा पुगे । यस बीचमा परनिर्भरता विश्व ब्यबस्था जस्ता सैदान्तिक खुराकहरुको राम्रै प्रयोग भई सकेको देखिन्छ । मुख्य कुरा सुसुप्त अवस्थाको भूमण्डली कारण सक्रिय भयो त्यस बेलादेखि पुरानो मान्यताको राजनीतिक बिचार र सिद्दान्त बिस्तारै नकाउट हुँदै गएको विश्व राजनीतिक घटनाहरुले देखाउंछ । क्रमसः नयाँ नयाँ सङ्गठन निर्माण मार्फत हुकुमत गर्ने संस्कार बढ्दै गयो ।
भूमण्डलीकरण र विश्व ब्यबस्थापनको माध्यमले संसारका अरु देशहरुलाई घेराबन्दी गर्दै लगे । फलस्वरुप दुइचार राष्ट« बाहेक सबै राष्ट्रहरु सँधैका लागि नकाउट झैँ बन्न पुगे । किनकी अलिकति चल्बलाउनु खोजे कि भूमण्डलीकरणको चक्र मुक्का झैँ बर्सिनु थालेपछि बिचरा अरु देशहरु नीहुरो जस्तै निहुरिनु पर्ने परिस्थिति बन्दै गयो । यसरी अघि बढेको विश्व राजनीति सानो भाइरसको महामारीका कारण अहिले बिलकुल फरक अवस्थामा उभिएको छ । सानो भाइरसले फैलाएको ठुलो विरुद्ध सिंगो विश्व एकभई परस्पर सहयोग, सद्भाब ऐकबद्धताकासाथ लड्न जरुरी छ । अन्यथा मानव जीवनको नकाउटको अवस्था चल्दै जानेछ । बिचार, दर्शन, राजनीति, विज्ञान नकाउट हुनेछ । महामारीलाई अवसरका रुपमा सदुपयोग गर्दै विश्वभर मानव एकताको खाँचो देखिएको छ । विपद र पीडाका बेला भावना मिल्नु जरुरी छ । आपसी वेमेललाई हटाइ आपसी भाइचाराको विकास गर्नु यतिबेलाको आवश्यक्ता हो ।
प्रतिक्रिया दिनुहोस्