
बैतडी । जिल्लाको हवाई सेवा अढाई महिनादेखि बन्द रहेको छ ।
गत चैत १० गते बैतडी धनगढी–उडानपछि हवाई सेवा बन्द भएको हो । साताको एक दिन बिहीबार बैतडीबाट धनगढीसम्म समिट एयरले उडान भर्दै आएको थियो ।
नियमित रूपमा उडान हुने गरेकोमा हाल यात्रु नपाउँदा बन्द रहेको बैतडी नागरिक उड्डयन कार्यालय पाटनका वरिष्ठ अधिकृत चेतराज भट्टले जानकारी गराउनुभयो ।
समिट एयरले यात्रु बढी पाइने पर्यटकीय क्षेत्रहरूमा बढी उडान भरिरहेको हुनाले पाटन आउन नसकेको उहाँले बताउनुभयो ।
अढाई महिनादेखि बन्द रहेको हवाई सेवा अबको दुई हप्तासम्म पुन सञ्चालनमा आउने समिट एयर बैतडीका सम्पर्क व्यक्ति कृष्ण दत्त भट्टले जानकारी दिनुभयो ।
यसअघि गत पुसदेखि पनि यहाँको हवाई सेवा बन्द भएको थियो । यात्रु अभाव र मौसम अनुकुल नहुँदा हवाई सेवा बन्द रहेकोमा फागुन पहिला साता सुचारु भएको थियो ।
यसैबीच बैतडी–धनगढी हवाई भाडा महंगो भएको यात्रुहरूको पनि गुनासो रहदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्