१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


असंगठित र स्वरोजगार मजदुरलाई सामाजिक सुरक्षा याेजनामा ल्याउन एनटियूसीको दबाव


78
Shares

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस निकट मजदुर संगठन नेपाल ट्रेड युनियन कांग्रेस (एनटियूसी)ले असंगठित र स्वरोजगारको क्षेत्रमा रहेका मजदुरहरूलाई पनि तत्काल योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको दायरामा ल्याउन सरकारलाई दबाव दिएको छ ।

(एनटियूसी)ले आइतबारबाट काठमाडौंमा सुरु हुने आफ्नो छैठौं राष्ट्रिय सम्मेलनको जानकारी दिन शनिबार आयोजित पत्रकार सम्मेलनमा योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको दायरामा असंगठित र स्वरोजगार क्षेत्रमा रहेका मजदुरहरूलाई तत्काल ल्याउन सरकारसँग पुनः माग गरेको हो ।

पत्रकार सम्मेलनमा बोल्दै एनटियूसीका अध्यक्ष पुस्कर आचार्यले सरकारले तत्काल सो माग सम्बोधन नगरे आन्दोलनमा जान बाध्य हुने चेतावनी दिनुभयो । उहाँले योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा ढिलाइ भइरहेको भन्दै आपत्ति जनाउनुभयो ।

सम्मेलनमा करिव १ हजार ६ सय प्रतिनिधिहरू सहभागी हुनेछन् । महंगी नियन्त्रणका सम्बन्धमा, महिला÷बालिकामाथि हुने बलात्कारलगायतका जघन्य अपराध नियन्त्रणका सम्बन्धमा पनि सरकारलाई आवश्यक सुझाव दिनेगरी सम्मेलनमा छलफल हुने एनटियुसीका महासचिव योगेन्द्रकुमार कुँवरले जानकारी दिनुभयो ।

काठमाडौंको प्रज्ञाभवनमा हुने दुई दिने सम्मेलनको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुहुनेछ । सम्मेलनले एनटियूसीको सातौं राष्ट्रिय महाधिवेशनको मिति पनि तय गर्ने जानकारी गराइएको छ ।