
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणका बारेमा संसदमा जानकारी गराउन माग गर्नुभएको छ ।
आइतबारको प्रतिनिधि सभा बैठकमा समय माग गरि बोल्दै सांसद ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको सम्बन्धमा सत्तारुढ गठबन्धनका दलले समेत प्रश्न उठाइरहेको उल्लेख गर्दै यस सम्बन्धमा संसदमा जानकारी गराउन माग गर्नुभएको हो ।
उहाँले प्रधानमन्त्रीको भ्रमण राजकिय, सद्भावना अथवा व्यापारिक कुन प्रकारको हो सो विषय संसदमा जानकारी गराउनुपर्ने बताउनुभयो । सांसद ज्ञवालीले भ्रमणका क्रममा कुनै समझदारी हुने, नहुने विषयमा पनि बेखबर रहेकाले सो विषयमा स्पष्ट पार्नुपर्ने बताउनुभयो ।
उहाँले सरकारले गम्भिर विषयहरुमा पनि प्रमुख प्रतिपक्ष दलसँग परामर्श तथा सुझाव नलिने र राष्ट्रिय समझदारी नबनाउने गरेको पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘भ्रमण राजकिय हो कि ? आधिकारिक हो कि ? सद्भावना मात्रै हो कि ? कुनै अफिसियल या कुनै विजनेश लाइक हो कि ? त्यस सम्बन्धमा हामिलाई जानकारी छैन । छलफलका विषयहरु के हुन् ? त्यहाँ कुनै समझदारीहरु हुँदैछन् ? हुँदैछन् भने के विषयमा हुँदैछन् ? यस विषयमा प्रमुख प्रतिपक्ष बिल्कुल बेखबर छ । प्रमुख प्रतिपक्षलाई यस सम्बन्धमा कुनै जानकारी गराइएको छैन । यो विषय पनि मैले सदनमा रेकर्ड गराउन चाहान्छु ।’
उहाँले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण प्रधानमन्त्रीको हैसियतमा हुन लागेको हो कि रक्षा मन्त्रीको हैसियतमा हुन लागेको हो भन्नेपनि स्पष्ट पार्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्