
काठमाडौं । प्रतिनिधिसभाका सांसदहरूले अमेरिकाद्वारा प्रस्तावित स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)को उदेश्य स्पष्ट हुनुपर्ने बताएका छन् ।
बुधबार नयाँबानेश्वरस्थित संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनीहरूले नेपाल कुनै पनि सैनिक गठबन्धनमा जाने कुरा स्वीकार्य हुन नसक्ने बताएका हुन् ।
नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कडेलले एसपीपी सम्झौतामार्फत् अमेरिकी सेनाको रणनीतिक उद्देश्य हो भने अघि बढाउन नहुने धारणा राख्नुभएको हो । उहाँले अमेरिकी सेनाहरू नेपाल आउने र उनीहरूकै नियम, कानूनको अधिनमा चल्ने भए सो सम्झौता अगाडी बढाउन नहुने बताउनुभयो ।
यस्तै, नेकपा (एकीकृत समाजवादी)का सांसद जीवनराम श्रेष्ठले नेपाल कुनै पनि सैनिक गठबन्धनमा जाने कुरा स्वीकार्य हुन नसक्ने बताउनुभयो । उहाँले नेपालको स्वाधिनता, स्वतन्त्रता र अखण्डतामाथि आँच आउने काममा आफ्नो पार्टीको समर्थन नहुने स्पष्ट पार्नुभयो ।
जनता समाजवादी पार्टी, नेपालका सांसद राजकिशोर यादवले एसपीपी सम्झौताको सम्बन्धमा प्रमुख राजनीतिक शक्तिहरूका बीचमा राष्ट्रिय सहमति कायम हुनुपर्ने बताउनुभयो । उहाँले बस्तुनिष्ठ भएर यसको बुँदाहरुलाई केलाएर हेर्नुपर्ने बताउनुभयो ।
यादवले नेपालको स्वार्थलाई ध्यानमा राखेर र नेपालको सामरिक स्वार्थलाई केन्द्रबिन्दुमा राखेर यस्ता विषयहरूको सम्बन्धमा निर्णय हुनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्