
काठमाडौं । रुपन्देहीको भैरहवाबाट वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरुलाई श्रम स्वीकृति दिन थालिएको छ ।
वैदेशिक रोजगार व्यवस्थापन शाखा स्थापना गरि बुधबारदेखि श्रम स्वीकृति दिन सुरू गरिएको हो ।
शाखाको बुधबार श्रम, रोजगार तथा सामाजिक विकास मन्त्री किसान श्रेष्ठले उद्घाट्न गरेसँगै श्रमिकहरुलाई श्रम स्वीकृति दिन थालिएको छ ।
भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै सो विमानस्थल हुँदै वैदेशिक रोजगारीमा जान चाहनेहरुका लागि अब काठमाडौं धाउन नपर्ने भएको छ ।
भैरहवाबाटै श्रम स्वीकृति दिन थालिएपछि भैरहवा विमानस्थलमा उडान भर्ने एयरलाइन्सहरुलाई पनि यात्रुको खाँचो नहुने देखिएको छ । सो कार्यालयबाट लुम्बिनी, गण्डकी, कर्णाली, सुदूरपश्चिम, बागमती र मधेश प्रदेशका बासिन्दालाई सहज हुनेछ ।
श्रम स्वीकृति दिने कार्यालयमा तत्कालका लागि शाखा अधिकृत तहको कर्मचारी सहितको कर्मचारीहरु खटाइएको छ । श्रम स्वीकृति दिने प्रक्रिया पोखराबाट पनि सुरू गरिने श्रम मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्