
काठमाडौं । सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा योजनाअन्तर्गत हालसम्म योगदानकर्तालाई झण्डै डेढ अर्ब भुक्तानी गरिसकेको छ ।
कोषले यही असार २ गतेसम्म योगदानकर्तालाई विभिन्न सुविधा शिर्षकमा एक अर्ब ४३ करोड ५३ लाख भुक्तानी गरेको हो । कोषले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनाअन्तर्गत १० हजार ५ सय ९६ योगदानकर्तालाई १९ करोड ४५ लाख ६ हजार ९ सय ७९ र ४ सय ९६ योगदानकर्तालाई दुर्घटना तथा अशक्तता सुरक्षा योजनाबापत एक करोड ९१ लाख ३१ हजार १सय ६ दाबी भुक्तानी दिएको हो ।
आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत २ सय १० योगदानकर्ताका परिवारलाई ३ करोड ३ लाख ६६ हजार ३ सय ९३ र वृद्ध अवस्था सुरक्षा योजनाबापत १७ हजार ७ सय ७२ योगदानकर्तालाई १ अर्ब १९ करोड १३ लाख १८ हजार ५ सय ७० भुक्तानी गरिएको कोषले जनाएको छ ।
कोषले योगदानकर्तालाई चार वटा सुविधा उपलब्ध गराउँदै आएको छ । विसं २०६७ चैत ७ गते स्थापना भएको कोषले २०७५ मङ्सिर ११ गतेदेखि योजना कार्यान्वयनमा ल्याएको थियो । रोजगारदाताका तर्फबाट २० र श्रमिकको ११ प्रतिशत गरी ३१ प्रतिशत रकम कोषमा जम्मा गर्नुपर्छ । त्यसरी जम्मा गरिएको योगदान रकममध्येबाट १ प्रतिशत औषधि उपचार स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, १.४ प्रतिशत दुर्घटना र अशक्तता सुरक्षा योजना, ०.२७ प्रतिशत आश्रित परिवार सुरक्षा योजना र २८.३३ प्रतिशत वृद्धावस्था सुरक्षा योजनामा बाँडफाँट हुनेछ ।
निवृत्तिभरण योजनामा जम्मा भएको रकम निश्चित समयपछि योगदानकर्ताले आवश्यक परेको अवस्थामा निकाल्न सक्नेछन् । कोषमा हालसम्म १८ अर्ब ८३ करोड रुपैयाँ योगदान रकम सङ्कलन भएको छ ।
जेठ मसान्तसम्म कोषमा तीन लाख ४० हजार ८ सय ४६ योगदानकर्ता सूचीकृत भएका छन् । सो अवधिमा १७ हजार १ सय ३० रोजगारदाता आबद्ध भएको कोषले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्